Logo
३१ भाद्र २०८१, सोमबार
(May 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालेन शाहमाथि फेरि खनिए केशव स्थापित !

नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार केशव स्थापित मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहमाथि फेरि खनिएका छन्।

बालेनले आफ्नो फोटो राखेर लौरीमा भोट भन्दै सामाजिक सञ्जालमा प्रचार गरेको आरोप उनको छ।

‘यो बालेन भन्ने पात्रलाई केही नबोल भनेको, ठिक छ बोल्दिनँ। तर मैले उठाएको कुरा के भने गर्नै नहुने काम गर्‍यो। राजनीतिमा यस्तो प्रवृत्तिलाई प्रश्रय दिनु हुन्न,’ काठमाडौं वडा नम्बर १० का बासिन्दासँग नयाँ बानेश्वरस्थित अल्फाबिटामा आज अन्तर्क्रिया गर्दै उनले भने, ‘एउटा कोठामा बसेर पाँच/सात सय मोबाइलबाट घाँटीसम्म टिसर्ट लगाएको उसको फोटोमा मेरो टाउको हालेर तल लौरो एउटा राखेर केशव स्थापितलाई जिताऔं, लौरोमा छाप हालौं भन्छ कस्तो बेवकुफ रैछ। गर्न पाइन्छ यस्तो?’

यसअघि स्थापितले बालेनलाई परिचय लुकाएर भोट माग्न नआउन भनेका थिए।

‘केशव स्थापितलाई जिताऔं भन्दै मेरो टाउको राखेर लौरोमा छाप हालौं भन्दै प्रचार गरेका रहेछन्,’ उनले भने, ‘हामीले पनि बालेनको फोटो राखेर लाल्टिनमा भोट हालौं भन्यो भने के हुन्छ? यस्तो अपराध गर्न हुन्न।’

स्थापितले परिचय खुलाएर आउन पनि बालेनलाई आग्रह गरेका थिए।

‘त्यसैले मैले भनेको ठग नगर है। यस्तो चल्दैन काठमाडौंमा। गाउँमा ठग्न पाइन्छ होला। यहाँ हातहातमा मोबाइल छ। केशव स्थापितको पुस्ता नै काठमाडौंले चिन्छ,’ उनले भने, ‘मेयरमा भोट माग्ने हो भने परिचय खुलाएर आउनुपर्‍यो नि! केशव स्थापित भन्यो भने म २० पुस्ता खुलाउन सक्छु।’

बालेनका र्‍यापमाथि पनि स्थापितले टिप्पणी गरेका छन्।

‘हुनसम्म अपराध गर्ने अनि र्‍याप भनिदिने? र्‍यापले छोपिन्छ र?,’ उनले भने, ‘नयाँ पुस्तालाई राजनीतिमा छेक्ने होइन स्वागत छ।’

आफू र बालेनबीच केही समयअघि दुई घन्टा कुरा पनि भएको उनले बताए।

‘मैले भेटमा उहाँलाई खिचापोखरी भनेको के हो भनेको खिचा भनेको कुकुरजस्तो लागेको थियो कुकुरपोखरी होला भन्छ,’ स्थापितले भने, ‘खे भनेको मुहार हो साथी। चा भनेको धुने हो। यति बुझेर आऊ भनेको हो।’ यति पनि थाहा नहुनेले ठूला कुरा नगरौं भन्ने आफूले आग्रह गरेको उनले बताए।

प्रकाशित मिति: May 4, 2022

प्रतिक्रिया दिनुहोस्