Logo
२४ पुस २०८१, बुधबार
(April 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि पशुपति क्षेत्रमा तीन दिनसम्म हरिसिद्धिको नाच देखाइँदै

पशुपति क्षेत्रमा आजदेखि तीन दिनसम्म ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र धार्मिक महत्त्वको हरिसिद्धिको नाच प्रदर्शन हुँदैछ ।

श्री हरिसिद्धि नाच मूल समितिले तीन दिनसम्म नाचसहित परम्परागत नाटक प्रदर्शन गर्न लागिएको जानकारी दिएको छ । जात्राका लागि हरिसिद्धि मन्दिरमा रहेको ललितपुर महानगरपालिका वडा नं २८ बाट एक सय जना देवगण आउने छन् ।

देवगणलाई चावहिलको एक पार्टी प्यालेसमा बस्ने, खाने व्यवस्था गरिएको मूल समितिका संयोजक दिलिप वैद्यले जानकारी दिनुभयो । हरिसिद्धि नाच राजा विक्रमादित्यका पालामा सुरु भएर उनकै पालामा रोकिएको थियो ।

११३३ सालमा अमर मल्लले यो नाचलाई निरन्तरता दिएको तथ्य विभिन्न भाषा वंशावलीमा पाइने पशुपति क्षेत्रको संस्कृतिका ज्ञाता मुकुन्दराज वैद्यले बताउनुभयो । अमर मल्लले सुरु गरेपछि पनि बीचमा यो नाच रोकिएको थियो । जसलाई राजा प्रताप मल्लले फेरि सुरु गर्नुभएको हो ।

२०६६ सालअघि पनि झन्डै आधा शताब्दी जात्रा लोप भएको थियो । हरिसिद्धिका धर्मगोविन्द महर्जन पञ्चायतकालमा गुठी संस्थान, पशुपति र हरिसिद्धि क्षेत्रका स्थानीयवासीबीच समन्वय हुन नसक्दा जात्रा रोकिएको बताउनुहुन्छ ।

तीनै वटा पक्षको समन्वयमा ५० वर्षपछि ऐतिहासिक महत्त्वको नाचसहितको यो जात्रा फेरि सुरु भएको हो । जात्रा सुरु भएको इतिहासअनुसार झन्डै दुई हजार वर्षअघिदेखि नै नेपालमा गीति नाटक परम्परा रहेको पुष्टि हुने पनि संस्कृतिविद् वैद्यले बताउनुभयो ।

जात्राका लागि २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आवश्यक बजेट पशुपति क्षेत्र विकास कोष, स्थानीय बासिन्दा र सहयोगीबाट जुटाइने भएको छ ।

प्रकाशित मिति: Apr 8, 2022

प्रतिक्रिया दिनुहोस्