आफूलाई तत्काल युरोपेली संघमा समावेश गर्न युक्रेनको आग्रह
युक्रेनका राष्ट्रपति भोलोमिदिर जेलेन्स्कीले आफूलाई तत्काल युरोपेली संघमा समावेश गर्न आग्रह गरेका छन् । ‘हामी युरोपेली संघलाई नयाँ कार्यविधि अपनाएर युक्रेनलाई तुरुन्तै स्वीकार गर्न अपिल गर्छौँ,’ जेलेन्स्कीले आफ्नो पछिल्लो भिडियो मेसेजमा भने ।
‘हामीलाई साथ दिने हाम्रा पार्टनरप्रति हामी असाध्यै आभारी छौँ तर हाम्रो उद्देश्य भनेको समग्र युरोपेलीसँगै हुनु हो र उनीहरु सरह हुनु हो । मलाई लाग्छ हामी यसको लायक छौँ । म पक्का छु कि यो सम्भव छ ।’
जेलेन्स्कीले आफूले आइतबार पोर्चुगल र लिथुआनिया, फ्रान्स र पोल्याण्डका राष्ट्रपति र बेल्जियम, स्पेन र युनाइटेड किङ्डमका प्रधानमन्त्रीसँग कुराकानी गरेको बताए । ‘हाम्रो युद्ध विरोधी गठबन्धको समर्थन अभूतपूर्व छ,’ जेलेन्स्कीले भने ।