पुटिनको हमला नेटोसम्म पुग्यो भने हामी पनि तयार : अमेरिका
अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कनले पुटिन युक्रेनको सरकारलाई अपदस्थ गर्ने कोसिस गर्नेछन् भन्ने कुरामा सहमति जनाएका छन् ।
अमेरिकी प्रसारक एबीसीलाई दिएको अन्तरवार्तामा ब्लिङ्कनले यो रुसी योजनाको हिस्सा भएको बताएका छन् । ब्लिङ्कनले युक्रेनको राजधानी किएभ र अन्य ठूला शहरमा हमला गरेर युक्रेनको चौतर्फी घेरबन्दी हुने बताएका छन् ।
ब्लिङ्कनले भने, ‘रुसी हमला युक्रेनभन्दा अघि बढ्ने सम्भावना छ तर अमेरिका नेटो सदस्यको रक्षाका लागि प्रतिबद्ध छ । ’ अमेरिकी विदेश मन्त्रीले थपे, ‘नेटोको कुनै पनि एक सदस्यमाथि हमला भनेको उसका सबै सदस्यमाथिको हमला हो ।’
ब्लिङ्कन थप्छन्, ‘राष्ट्रपति बाइडेन यो कुरामा पूर्ण रुपमा स्पष्ट छन् कि नेटोका हरेक इन्चको सुरक्षा हुनेछ । मलाई लाग्छ कि पुटिनले हमलाको दायरा युक्रेन बाहिर फैलाए भने हाम्रो यो प्रतिबद्धता काफी छ ।’
युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले पनि रुसले आफूहरुलाई नष्ट गर्न चाहेको बताएका छन् ।एक भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले भने, ‘रुसले युक्रेनका प्रमुखलाई नष्ट गरेर राजनीतिक रुपमा नष्ट गर्न चाहन्छ । दुस्मनको निशानामा सबैभन्दा पहिला म छु र दोस्रो नम्बरमा मेरो परिवार छ । ’