प्रेम विवाहलाई पञ्चायतले अस्वीकार गरेपछि महोत्तरीमा श्रीमतीको हत्या, श्रीमानसहित दुई पक्राउ
मधेश प्रदेश स्थित महोत्तरीमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले श्रीमतीको हत्या गरेको आरोपमा भारत सीतामढी ग्राम पञ्चायत भासर मघहा ७ अनारवन गाउँका ३७ वर्षीय अजय महतो कोइरी र सर्लाही मलंगवा नगरपालिका-९ का ३४ वर्षीय प्रमोद राउतलाई पक्राउ गरेको हो ।
पञ्चायतले प्रेम विवाह अस्वीकार गरेपछि श्रीमतीको हत्या गरेको खुलासा भएको छ । उनीहरूमाथि भारत सीतामढी भैरबकोठी, मेहसौल टोल घर भएकी राधा भन्ने अफ्सना खातुनको हत्या गरेको आरोप रहेको महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहररीले महोत्तरी प्रहरीले जनाएको छ ।गाउँघरमा प्रचलित ‘पञ्चायती’ (कथित अगुवाको भेला)ले प्रेम विवाहलाई मान्यता नदिएकै कारण आफ्नै श्रीमतीको हत्या गरेको खुलासा भएको छ ।
मृतकका श्रीमान् भारत सितामढी घर भई सर्लाहीको मलंगवामा डेरा लिई बस्दै आएका ३७ वर्षीय अमित महतो कोइरीलाई फागुन ६ गते नेपाल-भारत सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
प्रहरीका अनुसार अमितले अफसानासँग प्रेम विवाह गरेका थिए । गाउँमा पञ्चायतको भेलाले अर्कै समुदायसँग विवाह गरेकै कारण अमितलाई अफसानासँग अलग रहन निर्देश गरेको प्रहरीको भनाइ छ । पञ्चायतले ४० हजार रुपैयाँ जरिवानासहित भोजभतेर खाएर अलग हुने निर्णय गरेको तर अमितसँग अलग हुन नमानेपछि अमितकै योजनामा अफसानाको हत्या भएको प्रहरीको निष्कर्ष छ ।
भारतको सितामढी जिल्लास्थित भैरव कोठी बस्ने अफसना खातुनको शव गत मंगलबार फेला परेको थियो ।प्रहरीका अनुसार उनीहरु सर्लाहीको ईश्वरपुर-१३ स्थित श्रीनगरमा मेला भर्न एक हजार ६ सय रुपैयाँमा टेम्पो रिजर्भ गरी मृतक महिलाका दुई नाबालक छोरालाई साथमा लिएर गएका थिए ।
टेम्पो फिर्ता गएपछि प्रमोद राउतले प्रदेश २-०२-००२ प ७९५७ नम्बरको मोटरसाईकलमा दुई पटक गरी सबै जनालाई पालैपालो बाँके खोलाको ड्याम हुँदै महोत्तरीको गौशला नगरपालिका वडा नम्बर १२ स्थित निर्माणाधीन रेल्वे ट्रयाकमा पुर्याएका थिए ।
प्रहरीका अनुसार अमित र अर्का एक व्यक्तिले अफसाना खातुनलाई सागरनाथ जंगलतर्फ लगेका थिए । यता प्रमोद राउतले मोटरसाईकलमा २ बच्चालाई सो स्थानबाट दक्षिण कान्तिबजारस्थित मैया योन्जनको होटलमा पुर्याएका थिए ।
आरोपित अमित महतो कोइरी र अर्का पुरूषले अफसानालाई जंगलमा लगेर पछाडिबाट घाँटीमा सलले तीन फन्को बाँधी लडाएर कञ्चट र अनुहारमा लात्ती हान्दै हत्या गरेको प्रहरीको भनाइ छ ।
विवाह गरेर अमितले अफसानालाई आफ्नो घर लगे पनि गाउँसमाजले उक्त विवाहलाई अस्वीकार गरेको बताइन्छ । बेग्लै समुदायकी महिलासँग विवाह गरेको भन्दै पञ्चायतले अफसाना खातुनलाई ४० हजार रुपैयाँ क्षतिपूर्ति दिएर अलग हुन फैसला गरेको थियो । सो जरिवाना रकमबाट गाउँसमाजमा उनले भोजसमेत खुवाउनु परेको थियो ।
गाउँसमाजले विवाहलाई मान्यता नदिएपछि उनीहरु दुई नाबालक छोरालाई लिएर विगत ९ महिनादेखि सर्लाहीको मंलगवा नगरपालिका वडा नम्बर ९ मा कोठा भाडा लिई सँगै बस्दै आएका थिए ।
अफसाना गर्भवतीसमेत रहेकीले उनले कानुन अनुसार विवाह गर्न अमितलाई दबाब दिँदै आएकी थिइन् । त्यसपछि तनावमा रहँदै आएका अमितले सँगै काम गर्ने अर्का एक जना पुरूष र प्रमोद राउतसँग मिलेर अफसानाको हत्या गर्ने योजना बनाएको प्रहरीको भनाइ छ ।
अफसानाको शव फेला परेपछि अनुसन्धानमा जुटेको प्रहरीले घटनामा संलग्न रहेको आशंकामा सर्लाही हरिपूर्वा नगरपालिका वडा नम्बर ९ बस्ने वर्ष ३४ का प्रमोद राउतलाई पक्राउ गरी सोधपुछ गरेको थियो । प्रमोद र अमितले हत्यामा आफूहरुको संलग्नता रहेको स्वीकार गरेसँगै आवश्यक कानुनी कारवाही अघि बढाइएको र फरार अर्का एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनामाथि कर्तव्य ज्यान मुद्दामा महोत्तरी जिल्ला अदालत, जलेश्वरबाट म्याद लिई ईलाका प्रहरी कार्यालय गौशालाले थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।