सातै प्रदेशमा उपभोक्ता अदालत गठन गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले सातवटै प्रदेशमा उपभोक्ता अदालत गठन गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।
न्यायाधीशहरु बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको इजलासले उपभोक्ता हित संरक्षण ऐन २०७५ अनुसार उपभोक्ता अदालत गठन गर्न आदेश दिएको हो ।
सर्वोच्च अदालतले ऐनमा भएको व्यवस्था कार्यान्वयन गर्नू भनी आदेश दिएको हो ।ऐनमा भएको व्यवस्था अनुसार सरकारले अदालत गठन नगरेको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएको थियो ।
यो मुद्दाको जवाफ दिने क्रममा सरकारले सातवटै प्रदेशमा उपभोक्ता अदालत गठनको गृहकार्य भइरहेको जानकारी गराएको थियो । अरु छ वटा प्रदेशमा प्रदेश राजधानीमा र बाग्मती प्रदेशको हकमा काठमाडौंमा उपभोक्ता अदालत गठन गर्ने सरकारको तयारी थियो ।
सर्वोच्चले त्यही तयारी कार्यान्वयन गर्नुभनी आदेश दिएको हो ।