पूर्वमन्त्री यादवले भने : ‘प्रदेशले आफ्नो प्रहरी आफैं भर्ना गर्नुपर्छ सरकारको मुख ताक्नु भएन’
मधेश प्रदेशका पूर्वमन्त्री ज्ञानेन्द्र यादवले प्रदेश प्रहरी भर्ना गर्न संघीय सरकारको मुख ताक्न नहुने बताएका छन् । प्रदेश सभाको बुधबारको बैठकमा उनले संघीय सरकारले पनि प्रहरी भर्ना गर्न प्रदेशलाई अवरेध गर्न नहुने बताए ।
‘प्रदेशले आफ्नो प्रहरी आफैं भर्ना गर्नुपर्छ’ उनले भने, ‘कसैको मुख ताक्नु भएन । ’प्रदेश सरकार संघीय सरकारको मातहतको अंग नभएको भन्दै पूर्वमन्त्री यादवले शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउन प्रहरी भर्ना गर्नुपर्ने धारणा राखे ।
बुधबार मधेशको प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले प्रहरी भर्नासम्बन्धी कानुन अगाडि बढाउन संघीय सरकारले ध्यान नदिएको भन्दै संकल्प प्रस्ताव पेश गरेका थिए ।
सो संकल्प प्रस्तावमाथिको छलफलमा बोल्दै जसपाका नेतासमेत रहेका यादवले उक्त कुरा बताएका हुन् ।छलफलमा भाग लिँदै नेकपा माओवादी केन्द्रका सांसद जगत यादवले प्रदेश सरकारले आफ्नै प्रहरी गठन गर्नुपर्ने बताए ।
उनले संघीय सरकारको मुख हेरेर बस्न नसकिने धारणा राखे ।लोसपा सांसद परमेश्वर साहले यसअघि प्रदेश प्रहरी ऐनको विरोध गर्नेहरु अहिले वकालत गर्न थालेकामा खुशी लागेको बताए ।