किसानको माग पूरा नगरे स्थानीय तहको निर्वाचनमा अवरोध गर्छौं : सीके राउत
जनमत पार्टीका अध्यक्ष सीके राउतले किसानको माग पूरा नगरे तराई मधेश क्षेत्रमा स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने चेतावनी दिएका छन् ।
बुधबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै उनले किसानको माग पूरा नगरे तराई मधेश क्षेत्रमा स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने चेतावनीयुक्त अभिब्यक्ति दिएका हुन् ।
किसानका विभिन्न माग राख्दै हाल राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशका विभिन्न शहरमा लगातार प्रदर्शन गर्दै आइरहेको छ ।
‘पहिला किसानको माग सम्बोधन होस् तब मात्रै स्थानीय तहको निर्वाचनको परिकल्पना गरौं’ उनले भने, ‘नभए अरु ठाउँमा त म भन्न सक्दिन तराई मधेशमा झापादेखि बाँके, बर्दिया, कैलाली कञ्चनपुरसम्म हामी अवरोध गर्नेछौं ।’
आफूहरुले उठाएका सबै ११ वटा माग पूरा गर्न नसके पनि कम्तीमा किसानका माग मात्रै भए पनि पूरा गर्नुपर्ने उनको भनाइ छ ।
अध्यक्ष राउतले भने ‘निर्वाचनमा भाग लिन आतुर छौं, निर्वाचनमा जानु अगाडि कम्तीमा किसानको मुद्धाहरुलाई सम्बोधन गर्ने पहल हुनुपर्छ । एक दिनमा नहोला, एक महिनामा पनि पूरा नहोला तर कमसेकम पहल थालिएको देखिनुपर्छ’ ।
अहिलेको निर्वाचन प्राणाली विकृत रहेको बताउँदै उनले निर्वाचनबाट पनि ठूलो परिवर्तन नआउने धारणा राखे ।