Logo
३ आश्विन २०८१, बिहीबार
(January 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चले धरौटी घटाइदिएपछि ठगी आरोप लागेका उमाशंकर रायभर रिहा

सर्वोच्च अदालतले धरौटी घटाइदिएपछि राजश्व ठगीको आरोप लागेका बाराका उमाशंकर रायभर रिहा भएका छन् ।

२८ करोड राजश्व छलीको आरोपमा पक्राउ परेका उमाशंकरलाई उच्च अदालत पाटनले ७५ लाख धरौटीमा मागेको थियो । उक्त धरौटी बुझाउन नसकेर उमाशंकर थुनामै थिए ।

शुक्रबार सर्वोच्च अदालतले उनको धरौटी घटाएर २५ हजार बनाइदिएको थियो ।

न्यायाधीश विश्वम्भर श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले २५ हजार धरौटी बुझाए थुनामुक्त गर्नु भन्ने आदेश दिएको हो ।

शुक्रबार धरौटी बुझाउने प्रक्रिया नसकिएपछि आइतबार २५ हजार धरौटी बुझाएर उनी छुटेको उच्च अदालतका प्रवक्ता नगिन्द्र केशरी पोखरेलले बताए ।

‘उहाँले २५ हजार धरौटी बुझाएपछि हामीले तारेखमा छोडेका छौं,’ उनले भने ।

सर्लाहीका सरोजकुमार मिश्रले उमाशंकरको नागरिकता र ल्याप्चे दुरूपयोग गरेर काठमाडौंमा ब्लुक्रस ट्रेडर्स र जेएन सप्लायर्स भन्ने कम्पनी खोलेका थिए ।

मिश्रले विभिन्न कम्पनीहरूबाट १ अर्ब ४ करोड राजश्व ठगी गरेको भन्दै राजश्व अनुसन्धान विभागले १७ जनाविरूद्ध उच्च अदालत पाटनमा मुद्दा चलाएको थियो। त्यसमध्ये उमाशंकर पनि थिए। उमाशंकरको नाममा रहेका कम्पनीले भने २८ करोड राजश्व ठगेको विभागको अभियोग छ।

अनुसन्धानका क्रममा विभागले उमाशंकरलाई पक्राउ गरेको थियो।

उनले भने आफ्नो नागरिकता, ल्याप्चे र फोटो मागेर लगेपछि मिश्र बेपत्ता भएको बयान दिएका थिए।

प्रकाशित मिति: Jan 30, 2022

प्रतिक्रिया दिनुहोस्