अमेरिकाद्वारा युक्रेनलाई नाटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसको माग अस्वीकार
अमेरिकाले युक्रेनलाई उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) को सदस्य बन्न रोक लगाउनुपर्ने रुसको मागलाई अस्वीकार गरेको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले युक्रेन सङ्कट समाधानका लागि रुसले अघि सारेका मागको औपचारिक रूपमा जवाफ दिँदै अमेरिकी अडान प्रस्तुत गरेका हुन् ।
एन्टोली ब्लिङ्कनले सङ्कट समाधानका लागि गम्भीर कूटनीतिक प्रकृया अगाडि बढाउने प्रस्ताव राखेका छन् । उनले रुसले यो प्रस्तावलाई रोज्नुपर्नेमा समेत जोड दिएका छन् ।
तर रुसका एक मन्त्रीले नाटोसँगको समन्वयमा आएको ब्लिङ्कनको प्रतिक्रियाबारे आफ्नो देशले अध्ययन गर्ने बताएको बीबीसीले जनाएको छ ।
यसअघि रुसले नाटो सैन्य गठबन्धन बिस्तार र सुरक्षा मामिलाबारे आफ्नो चासो र चिन्ताको लिखित सूची निकालेको थियो । त्यसमा युक्रेन उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) को सदस्य बने आफ्नो देशको सीमा क्षेत्रमा सैन्य गतिविधि बढ्ने र त्यसले राष्ट्रिय सुरक्षामाथि खतरा उत्पन्न हुने उल्लेख छ ।
यसैबीच रुस, युक्रेन, फ्रान्स र जर्मनीका कूटनीतिज्ञले अन्य मुद्दामा मतभेद भए पनि पूर्वी युक्रेनको डोनबास क्षेत्रमा युद्धविराम जारी राख्नेमा सबै सहमत रहेको बताएका छन् ।