Logo
३ आश्विन २०८१, बिहीबार
(January 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेश प्रदेशका मुख्यमन्त्री राउतको घरमा ढुंगा प्रहार

मधेस प्रदेशको राजधानी धनुषाको जनकपुरधाम कायम गरेको विरोधमा पर्साको वीरगञ्जमा सोमबारदेखि प्रदर्शन भइरहेको छ।

मंगलबार पनि प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले वीरगञ्ज घर भएका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको घरमा ढुङ्गामुढा गरेका छन्।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ तेजारथ टोलस्थित मुख्यमन्त्री राउतको घरमा ढुङ्गामुढा गरिएको हो।

नेपाली कांग्रेस वीरगञ्ज महानगर कमिटीले निकालेको र्‍यालीबाट निस्किएका एक युवकले ढुङ्गा हान्दा राउतको घरको सिसा फुटेको प्रहरीले जनाएको छ।

प्रदेशको स्थायी राजधानी जनकपुर तोकिएपछि आन्दोलन सुरु भएको हो। पर्साबासीले वीरगन्जलाई राजधानी बनाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन्।

पर्सा प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले कांग्रेसको र्‍यालीबाट मोटरसाइकलमा सवार एक युवकले मुख्यमन्त्रीको घरमा दुईवटा ढुङ्गा हानेको बताए।

ढुङ्गा प्रहारबाट घरमा सामान्य क्षति भएको डिएसपी खनालले बताए। ‘र्‍यालीबाट निस्किएर मोटरसाइकलमा सवार एक युवकले ढुङ्गा हानेका खुलेको छ’, उनले भने, ‘घरका दुईवटा सिसा फुटेका छन्। अरु क्षति भएको छैन।”

ढुङ्गा हान्ने युवा र उने चलाइरहेको मोटरसाइकलको सनाखत भएको डीएसपी खनालले बताए।

कांग्रेस वीरगञ्ज महानगर कमिटीका अध्यक्ष भोला कलवारले केही उच्छृङ्खल व्यक्तिहरुले पार्टीलाई बदनाम गराउन यस्तो गरेको हुन सक्ने बताए।

प्रकाशित मिति: Jan 18, 2022

प्रतिक्रिया दिनुहोस्