नारायणहिटीस्थित श्रीसदनका दुई कोठाको दस्तावेज सूचीकृत गरिँदै
नारायणहिटी दरबार सङ्ग्रहालयको श्रीसदनका दुई कोठामा रहेका पूर्वराजा वीरेन्द्र शाहको दस्तावेज राष्ट्रिय अभिलेखालयले सूचीकरण सुरु गरेको छ ।
अभिलेखालयबाट सेवा निवृत्त दुई कर्मचारी र तीन जना बाहिरबाट करारमा नियुक्त गरी दस्तावेज सूचीकरण थालिएको हो ।दस्तावेज सूचीकरणमा सङ्ग्रहालयका एक कर्मचारीको पनि सहभागिता छ ।
गत आर्थिक वर्षदेखि सूचीकरण सुरु गरिएको हो । अहिलेसम्म जन्मोत्सव, गद्दी आरोहण, पदक तथा विभूषणका एक हजार २७५ दस्तावेज भेटिएको अभिलेख अधिकृत रञ्जु हाडाले जानकारी दिइन् । श्रीसदन लामो समय पूर्वराजा वीरेन्द्रको निजी निवासका रुपमा रहेको थियो ।
उपचार, बिन्तीपत्र, भ्रमण, उत्सव, प्रतिवेदन र राजदूतावाससम्बन्धी दुई हजार २६८ दस्तावेज सूचीकरण गरिएको छ । राजनीतिक गतिविधि, स्वर्गारोहण, गुठी जग्गासम्बन्धी, भर्पाइ, रसिदलगायत दस्तावेज एक हजार ३०३ फेला परेको छ ।
कर्मचारीको दरबन्दी, राजीनामा, नियुक्ति, व्यक्तिगत विवरण र बैंक स्टेटमेन्टका एक हजार ८८७ दस्तावेज सूचीकृत गरिएको छ ।
दुई कोठाका दस्तावेज अभिलेखीकरण गर्ने क्रममा नेपाली भाषाका ६५६ र अङ्ग्रेजी भाषाका ८६५ पुस्तक फेला परेका छन् ।
पुस्तक र दस्तावेजलाई चार भागमा विभाजन गरी सूचीकरण गर्ने काम जारी छ ।अभिलेखीकरण सकिएपछि नारायणहिटीमै सुरक्षित राखिने वा अभिलेखालयमा ल्याएर संरक्षण गरिने भन्ने विषयमा छलफल भइरहेको अभिलेख अधिकृत हाडाले बताइन् ।