Logo
३ आश्विन २०८१, बिहीबार
(January 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको निर्देशनपछि ‍वीर अस्पतालमा डा लोहनीको सरुवा रोकियो

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि कोभिड युनिफाइड अस्पतालमा (वीर अस्पताल) को प्रमुखमा सरुवा भएका गुणराज लोहनीको सरुवा रोकिने भएको छ। दुई दिनअघि मन्त्रिस्तरीय निर्णयबाट डा लोहनीलाई वीर अस्पतालमा सरुवा गरिएको थियो।

तर त्यसको विरोध भएपछि प्रधानमन्त्री देउवाले हाल उनको सरुवा नगर्न र वीरमा डा भुपेन्द्र बस्नेतलाई नै निरन्तरता दिन निर्देशन दिएका हुन्।

न्याम्स ऐन विपरित डा लोहनीलाई वीरमा पठाइएको, १२औं तहको कर्मचारी सरुवा प्रधानमन्त्रीलाई जनाकारी नदिइ गरिएको र राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता लागेको बेलामा सरुवा गरिएको भन्दै कर्मचारीले विरोध गरेका थिए।

‘प्रधानमन्त्रीलाई कर्मचारीले उठाएका उक्त विषयमा जानकारी दिएलगत्तै सरुवा नगर्न निर्देशन दिनुभएको हो,’ बालुवाटार स्रोतले भन्यो, ‘डा लोहनीको सरुवा रोकिने पक्का भएको छ। आजै स्वास्थ्य मन्त्रालयले यसलाई कार्यान्वयन गर्छ होला।’

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार पनि डा लोहनीको सरुवा रोक्ने निश्चित भएको छ। ‘निर्वाचन आचारसंहितादेखि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन र गठबन्धन सरकारमा स्वास्थ्यमन्त्रीको एक्लौटी निर्णय भएको कुरा आएपछि सरुवा रोक्नुपर्ने अवस्था आएको हो।’

मन्त्रालयका एक कर्मचारीका अनुसार यो विषयमा मन्त्रालयले अपौचारिक रुपमा अहिलेसम्म सरुवा रोक्ने निर्णय भने गरिसकेको छैन। तर प्रधानमन्त्रीले नै भनेपछि रोकिने निश्चित जस्तै भएको छ।

वीर अस्पतालमा हाल डा भुपेन्द्र बस्नेत प्रमुखमा छन्। डा लोहनीको सरुवा रोकिने भएपछि वीरको प्रमुखमा डा बस्नेतले नै निरन्तरता पाउने भएका छन्।

प्रकाशित मिति: Jan 13, 2022

प्रतिक्रिया दिनुहोस्