Logo
३ आश्विन २०८१, बिहीबार
(January 5, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवा सरकारको निशानामा कर्मचारीतन्त्र, उपसचिव पछि सहसचिवको पनि व्यापक सरुवा !

शेरबहादुर देउवा सरकारको निशानामा कर्मचारीतन्त्र परेको छ । हालै ५७ जना उपसचिवको सरुवा गरेको सरकारले सहसचिवको पनि व्यापक रुपमा सरुवा गरेको हो ।

सामान्यतयाः सहसचिवको सरुवा मन्त्रिपरिषद् बैठकले गर्ने अभ्यास रहे पनि सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले हालैका दिनमा मन्त्रीस्तरीय निर्णयबाटै सहसचिव सरुवा गर्न थालेका छन्।

मन्त्री श्रेष्ठले मंगलबार ८ जना प्रशासन सेवाका, एक जना स्वास्थ्य सेवाका र एक इन्जिनियरिङ सेवाका गरी १० सहसचिवको सरुवा गरेका हुन्। मन्त्रालयले सरुवा भएका सहसचिवको सूची औपचारिक रुपमा बाहिर ल्याएको छैन।

मन्त्रालयका एक अधिकारीका अनुसार हालै काठमाडौ महानगरपालिकामा प्रमुख कार्यकारी अधिकृत रही सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएका राजेश्वर ज्ञवाली गृह मन्त्रालयमा सरुवा भएका छन्। उनी अब चाँडै कुनै जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर जान दौडधुपमा लागेका छन्। मन्त्री बालकृष्ण खाणसँगको व्यक्तिगत सम्बन्धका कारण उनी गृह मन्त्रालयमा सरुवा पाएको चर्चा सिंहदरबारका कर्मचारीबीच चलेको छ।

राजश्व प्रशासन तालिम केन्द्रमा रहेका सहसचिव दीर्घ मैनाली प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयमा सरुवा भएका छन्। त्यसैगरी नवलपरासीमा प्रमुख जिल्ला अधिकारी रहेकी मनमाया भट्टराई गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा भएकी छिन्।

त्यसैगरी कर्णाली प्रदेशको आन्तरिक मन्त्रालयमा रहेका सचिव झक्क आचार्यको सोही प्रदेशको आर्थिक मामिला मन्त्रालयमा सरुवा भएको छ। विगतमा लामो समय गृह मन्त्रालयमा रही हाल कर्णालीको आन्तरिक मामिला मन्त्रालयमा सचिव रहेका चक्रबहादुर बुढा अर्थ मन्त्रालयमा सरुवा भएका छन्। अर्थमन्त्री जनार्दन शर्मासँगको निकटताका कारण उनी अर्थ मन्त्रालय सरुवा भएको बताइन्छ।

अर्का सहसचिव श्रवणकुमार तिमिल्सिना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका छन्। उनी झापाका प्रमुख जिल्ला अधिकारी थिए। उनी पनि लामो समय गृह मन्त्रालयमा काम गरेका कर्मचारी हुन्। अख्तियारकै प्रवक्ता नारायणप्रसाद रिसालले गृह मन्त्रालयमा सरुवा पाएका छन्।

बागलुङका प्रमुख जिल्ला अधिकारी रहेका शिवकुमार कार्कीको समावेशी आयोग, ललितपुरमा सरुवा भएको छ।

सहसचिव भरत अर्याल सामान्य प्रशासन मन्त्रालय अन्र्तगतको स्थानीय विकास पूर्वाधार विभागको झोलुंगे पुल डिभिजन महाशाखामा सरुवा भएका छन्। त्यसैगरी स्वास्थ्य मन्त्रालयकी सहसचिव रिता जोशी भण्डारीको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा सरुवा भएको छ।

प्रकाशित मिति: Jan 5, 2022

प्रतिक्रिया दिनुहोस्