माओवादी महाधिवेशनमा सुरक्षा व्यवस्था कडा, पाँच सय प्रहरी परिचालन
नेकपा माओवादी केन्द्रको आजदेखि सुरु हुन लागेको आठौं महाधिवेशनलाई लक्षित गरी आवश्यक सुरक्षा प्रवन्ध मिलाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ
कार्यक्रम स्थल प्रज्ञा प्रतिष्ठान क्षेत्रमा पनि उल्लेख्यमात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । मेट्रोका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले माओवादीको सम्मेलनका लागि पाँच सयभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिएको जानकारी दिए ।
उद्घाटन सत्रमा आउने भीआईपीहरूदेखि लिएर कार्यक्रमस्थलको सुरक्षा व्यवस्था मिलाइएको छ । उनका अनुसार सम्मेलनको सुरक्षाका लागि सीसीटिभी निगरानीदेखि कुकुर परिचालनसम्म गरिएको छ ।
यसैगरी रानीपोखरी र दरबारमार्गका डिएसपीका कमाण्डमा रिजर्भ टोली पनि परिचालन गरिएको छ । माओवादी महाधिवेशनलाई लक्षित गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट ट्राफिक व्यवस्थापन पनि मिलाएको छ ।
पार्किङस्थल प्रज्ञा प्रतिष्ठानको कम्पाउण्ड, पश्चिम एरियातिर पार्किङको व्यवस्था गरिएको छ ।आन्तरिक व्यवस्थापनमा माओवादीको युवा संगठन वाईसीएल लगायत जनवर्गीय संगठनका स्वयंसेवक टोली खटाइएको छ ।