प्रदेश २ कांग्रेस अधिवेशन : ६७ पदका लागि मतदान जारी
मंगलबारदेखि जनकपुरमा जारी नेपाली कांग्रेसको प्रदेश नं २ को अधिवेशन अन्तर्गत आज मतदान जारी रहेको छ । ६७ पदका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको हो ।
मतदान बिहान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन समितिका सदस्य विनय सिंहले जानकारी दिए ।
जनकपुरधाम स्थित गोपाल धर्मशालामा जारी कांग्रेसको प्रथम अधिवेशनमा ७२ पदका लागि १८० जनाले उम्मेदवारी दिएका छन् । आज ६७ पदका लागि मतदान हुँदै छ । ५ सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।
प्रदेश २ को आठवटै जिल्लाबाट झण्डै २ हजार मतदाता निर्वाचनमा सहभागी छन् मतदानका लागि चारवटा बुथको व्यवस्था गरिएको छ ।
मतदानको निर्धारित समय बुधबार बिहान ८ बजेका लागि तोकिएको भएपनि मतपत्र छपाइ हुन ढिलाइ हुने भन्दै दिउँसो १ बजेमा लागि सारिएको थियो । तर, दिउँसो १ बजेसमेत हुन नसक्दा अपराहन्न मतदान सुरु गर्ने तयारी थियो ।
सोहि विषयलाई लिएर सभापतिका उम्मेदवार कृष्ण यादव र रामसरोज यादव पक्षबीच कुटाकुट भएको थियो । सोहि कारण आज बिहान ८ बजेसम्मका लागि मतदान स्थगित गरेको थियो ।
नयाँ नेतृत्व चयनका लागि शेरबहादुर देउवा पक्षबाट कृष्ण र विमलेन्द्र निधि पक्षबाट रामसरोज छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रेका छन् । रामसरोजलाई शेखर कोइराला पक्षको पनि समर्थन रहेको छ ।
निधि र शेखर कोइराका संयुक्त उम्मेदबार रामसरोज रहेकाले दुवै उम्मेदबार बीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।
कृष्ण यादव रौतहट जिल्लाका पार्टी सभापति हुन् भने रामसरोज प्रदेश २ काँग्रेस संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री हुन् ।कृष्ण यादवको प्यानलबाट उपसभापतिमा प्रदेश २ का महिला तथा बालबालिका मन्त्री वीरेन्द्र सिंह (सर्लाही) र बाराका चन्द्रशेखर यादवले उम्मेदवारी दिएका छन् भने महामन्त्रीमा सिरहाका उपेन्द्र यादव र पर्साका वृहस्पतिकुमार श्रेष्ठ छन्।
यस्तै सहमहामन्त्रीमा बाराका जयनारायण यादव, सप्तरीका परशुराम चौधरी र सप्तरीकै रीता यादवले उम्मेदवारी दिएका छन्।
यस्तै रामसरोजको प्यानलबाट उपसभापतिमा रौतहटका धनलाल ठोकर र सर्लाहीका विनोद खनाल छन् भने महामन्त्रीमा सिरहाका नरेश यादव र सर्लाहीका हरेश महतोले उम्मेदवारी दिएका छन्।
यस्तै सहमहामन्त्रीमा पर्साका अरविन्द अमात्य, महोत्तरीको बलवा नगरपालिकाका नगरप्रमुख विनोद यादव र बाराकी निर्मला सुवेदी समेत रामसरोजको प्यानलबाट उम्मेदवारी दिएका छन्।