Logo
३ आश्विन २०८१, बिहीबार
(December 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसमा सर्वाधिक भोट पाउने मुक्ता यादव को हुन् ?

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भएको निर्वाचनमा मुक्ताकुमारी यादवले सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएकी छन् ।

७३ पदको मतगणना सकिएर अहिलेसम्म आएका परिणाममा यादवले सबैभन्दा धेरै चार हजार नजिक ३९६० मत ल्याएकी हुन् । अर्थात उनले झण्डै ८५ प्रतिशत मत प्राप्त गरेकी छन् । अहिलेसम्म गणना भएको मतको परिणाममा निर्वाचित उम्मेदवारले प्राप्त गरेको यो नै सबैभन्दा धेरै मत हो ।

उनी मधेशी महिला समूहतर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । यसअघि केन्द्रीय सदस्यमा सर्वाधिक मत शशांक कोइरालाले ल्याएका थिए । तर, कोइरालाले ल्याएको ३८३६ मतभन्दा १२४ मत बढी ल्याइन् ।

पदाधिकारीको मत परिणाम आउँदा गगनकुमार थापाले सर्वाधिक मत पाएका थिए । उनले ३०२३ मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका थिए । तर, खुला केन्द्रीय सदस्यको परिणाम आउँदा गगनलाई उछिनेर शशांकले ३८३६ मत ल्याए ।

मधेशी महिला समूहको परिणाम आउँदा शशांकलाई मुक्ताकुमारीले उछिनेर सर्वाधिक मतसहित सदस्यमा निर्वाचित भएकी हुन् । मधेशी महिलातर्फ एक नम्बरमा केन्द्रीय सदस्यमा विजयी मुक्ता संविधानसभा सदस्य एवं राष्ट्रियसभा सदस्यको २ वर्षे कार्यकाल पूरा गरेकी निवर्तमान सांसद हुन् ।

४४ वर्षीया उनी धनुषा क्षेत्र नम्बर २ स्थित शहीदनगर–१ बालाबाखर निवासी हुन् । २७३३ मत पाएर निर्वाचित सभापति शेरबहादुर देउवालाई पनि उछिनेकी मुक्ताले कसरी यति धेरै मत ल्याइन् भनेर कांग्रेसमा चर्चा सुरु भएको छ ।

यसको पछाडिको कारण भनेको मुक्ता उम्मेदवारी दिँदा कुनै समूहमा खुलेकी थिइनन् । सामाजिक सञ्जालमासमेत उम्मेदवारीको जानकारी गराउँदा मुक्ताले समूह खुलाएकी छैनन् ।

मधेसी महिलातर्फ समूहगत उम्मेदवारको नामावली हेर्ने हो भने सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला र उपसभापति विमलेन्द्र निधि गरेर तिनवटै प्यानलमा उनको नाम थियो । त्यसैकारण आफूलाई सर्वाधिक मत आएको उनको निष्कर्ष छ ।

प्रकाशित मिति: Dec 21, 2021

प्रतिक्रिया दिनुहोस्