जान्नुहोस् : नेवार समुदायले मनाउने यःमरी पर्वका प्रेमसँग जोडिएको रोचक संस्कृति !
आज नेवार समुदायले यःमरी पर्व मनाउँदैछन् । देशभरका नेपालभाषीहरु यःमरी बनाएर देवदेवीलाई चढाइसकेपछि प्रसादको रुपमा यःमरी खान्छन्।
‘यःमरि च्वामु,उकिइ दुने हामु, व्युम्ह ल्यासे, मब्युम्ह सितिकुती बुढी‘ अर्थात् चुच्चो यःमरिभित्र तिल छ, दिए तरुनी हुन्छ्यौ, नदिए कुप्री चाउरी हुन्छ्यौ ! जस्ता गीत गाउने प्रचलन रहेको छ ।
पहिले-पहिले योमरी बनाउने घरमा योमरी माग्नका लागि युवायुवतीहरूको भिड लाग्थ्यो । यस गितमा भनिएझै तरुनी हुने ध्यानमा योमरी दिन बाहिर निस्कँदा धेरै किशोर किशोरीहरूको प्रेमसमेत बस्ने गरेको नेवार समुदायको भनाइ रहेको छ ।
धेरैको दाम्पत्य जीवन योमरीबाटै जोडिएको छ, कतिको सामाजिक सद्भाव कायम भएको छ । योमरी देख्दा सामान्य किसिमको एउटा खाद्य परिकार भए पनि यसको ऐतिहासिक एवं सांस्कृतिक महत्व छ ।
नेवारी समुदायको एउटा विशिष्ट खाद्य परिकारका रुपमा चिनिने योमरी जाडोको स्वादिष्ट खाद्य परिकार हो । योमरी बनाउने पाक कलासँग जोडिएका कथाहरू निकै रोचक छन् ।
रत्नाबदान बुद्ध वचन नामक पुस्तकमा उल्लेख भएको कथाअनुसार पाञ्चाल देश (हालको पनौती) का एक दानी एवं धर्मात्मा सुचन्द्र महाजन दम्पती बस्थे । एक दिन कुबेरलाई उनको स्वभावको परीक्षा लिन मन लागेछ र भेष बदलेर तिनै दम्पतीको घरमा पुगे ।
घरमा पुगेपछि ती दम्पतीले चामलको पिठोबाट तयार पारिएको पौष्टिकता युक्त योमरीले कुवेरको स्वागत गरे । महाजनको स्वागतले सन्तुष्ट भएका कुवेरले धानको भकारीमा योमरीसहित कुवेर र गणेशको बाहनलाई पूजा गर्ने विधि बताएर अन्तरध्र्यान भए ।
कुवेरले सिकाएअनुसार नै दम्पतीले योमरी बनाएर भकारीमा राखेको धानभित्र चार दिनसम्म राखे । चार दिनपछि योमरी निकालेर प्रसादका रूपमा खाए । चार दिनसम्म पूजा गरेपछि केही योमरी रधान चामलहरु गरिबलाई दान पनि दिए ।
चौथो दिन आफ्ना छोरीचेलीलाई समेत बोलाएर योमरी खुवाउँदा धनधान्यले भरिपूर्ण भएको र जाडोमा देखिने कुनै पनि स्वास्थ्य समस्या नदेखिएपछि सोही समयदेखि योमरीलाई धान्यदेवीको रूपमा पूजा गर्न थालियो भन्ने मान्यता रहेको छ ।
योमरीको विषयमा अर्को एउटा कथा पनि प्रचलनमा छ । योमरी पहिलो पटक नेवाःहरूले नै बनाएका थिए । परापूर्वकालमा काठमाडौंको मुख्य खाद्यबालीको रूपमा चामल थियो । काठमाडौंकै एक दम्पतीले आफूले उत्पादन गरेको अन्न प्रयोग गरेर योमरी बनाउने निर्णय गरे ।
जाडो मौसम थियो । शरीरलाई तातो बनाउनका लागि चाकु पनि त्यसमा राखियो । समुदायका लागि छुट्याएको एक भाग अन्न र योमरी ती दम्पतीले आफ्ना छिमेकीलाई पनि दिए ।
यसैबाट योमरी बनाएपछि छिमेकीलाई बाँड्ने चलन चल्यो । यसरी योमरी माग्ने र बाँडेर खाने चलनको विकास हुँदै गयो भन्ने अर्को विश्वास छ ।
देवीदेवताहरूलाई समेत योमरी चढाउने चलन छ । योमरीबाट राम्रो अन्न उत्पादन र समृद्धिका लागि धान्यदेवीको आराधना गर्ने परम्परा रहेको संस्कृतिविद्को भनाइ रहेको छ ।
पुन्ही एकदिन हुन्छ तर यःमरी पुन्ही एकदिनमात्र मनाइँदैन। यःमरी पुन्हीको भोलिपल्ट नेपालभाषीहरु आफ्ना नातागोता, छोरी, छोरीज्वाइँ, भाञ्जाभाञ्जीलाई घर बोलाएर योमरीसहितको भोज खुवाउने गर्छन्।
यस पूर्णिमालाई नेपालभाषामा थिल्ला पुन्ही पनि भनिन्छ । यस दिन चामलको पीठो र चाकु तथा तिलको मिश्रण राखिएको विशेष प्रकारको यःमरी खाने भएकोले योमरी पुन्हीले बढी चर्चित छ।
अरु पुन्हीमा विशेष प्रकारको भोज खुवाउने गरिँदैन। त्यसैले यस पुन्ही नेपालभाषी समुदायमा अत्यन्त महत्वपूर्ण मानिन्छ र ठूलो पुन्हीको रुपमा लिइन्छ ।