राष्ट्रपति बाइडेनले दिए‘समिट फर डेमोक्रेसी’ सम्मेलनमा प्रधानमन्त्री देउवालाई निम्तो
प्रधानमन्त्री शेरबहादुर देउवालाई डिसेम्बरमा हुन लागेको ‘समिट फर डेमोक्रेसी’ सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले निम्तो दिएका छन् ।
नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र उपसहायक विदेशमन्त्री केल्ली किडरलिङले बिहीबार प्रधानमन्त्री देउवासँगको शिष्टाचार भेटवार्तामा उक्त सम्मेलनको लागि बाइडेनको तर्फबाट निम्तो दिएका हुन् ।
उक्त सम्मेलन यस पटक भर्चुअल रुपमा हुँदै छ । उक्त सम्मेलनमा संसारका एक सयभन्दा बढी प्रजातान्त्रिक मुलुकहरुले सहभागिता जनाउने बताइएको छ ।
जवाफमा देउवाले आफू उक्त सम्मेलनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका थिए । सहायक विदेशमन्त्री (लु) ले प्रजातन्त्र सुदृढीकरणमा नेपालले गरेको प्रगतिको प्रशंसा गर्दै अमेरिकी राष्ट्रपति (जो बाइडेन) ले आयोजना गर्न लागेको समिट फर डेमोक्रेसी सम्मेलनमा सहभागिता जनाउने बारेमा प्रधानमन्त्रीले जानकारी दिएकोमा धन्यवाद दिए’ परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।