Logo
९ मंसिर २०८१, आईतबार
(November 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्री राईले कात्तिक ३० गते विश्वासको मत लिने

नवनियुक्त प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले यही कात्तिक ३० गते विश्वासको मत लिने भएका छन् ।

अब बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारीमा रहेको राईले बताएका छन् । प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी कात्तिक ३० गतेका लागि बैठक बस्ने जनाएको छ ।

कात्तिक १५ गते बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै तत्कालीन मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा गर्ने घोषणा गरेपछि सभामुखले प्रदेशसभाको अर्को बैठक कात्तिक २३ गतेका लागि डाकेका थिए ।

तर मुख्यमन्त्री राईले विश्वासको मत लिएरमात्र मन्त्रीमण्डल विस्तार गर्ने बताएपछि प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी विशेष कारणले कात्तिक ३० गतेसम्मका लागि बैठक स्थगित गरेको जानकारी दिएको थियो ।

मुख्यमन्त्री राईले विश्वासको मत लिनुभन्दा दुई दिन अघि नै प्रदेशसभा सचिवालयलाई जानकारी दिनुपर्ने भएकोले विश्वासको मत लिने विषयमा आन्तरिक तयारीका लागि उनी गृह जिल्ला भोजपुरबाट मंगलबार विराटनगर आएका छन् ।

मुख्यमन्त्री राईले प्रदेशसभाबाट विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । विश्वासको मत लिएर मंसिर पहिलो साता नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको मुख्यममन्त्री राईले बताए ।

गठबन्धन दल बीचको सहमतिमै चाँडै मन्त्रीमण्डल बिस्तार हुने उनको भनाइ छ । विश्वासको मत लिएलगतै सरकार विस्तारका लागि मन्त्रीको नाम पठाउन गठबन्धन दललाई आग्रह गरिने उनले बताए ।

गठबन्धन दलबीच भागवण्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने तयारीमा पनि छ । बढीमा ११ सदस्यीय मन्त्रीमण्डल बनाउने तयारी रहेको मुख्यमन्त्री राईले बताए ।

मुख्यमन्त्री राईले अध्ययनपछि मन्त्रालय विभाजन गरिने बताए । हाल प्रदेश १ मा सात वटा मन्त्रालय छन् ।

गठबन्धन घटकमा मन्त्री बन्ने आकांक्षी धेरै देखिएका छन् । मन्त्री बन्ने दौडमा माओवादी केन्द्रबाट झलकसिंह दर्लामी, रामकुमार राई, धीरेन्द्र शर्मा, उमिता विश्वकर्मा, कुसुम श्रेष्ठ छन् ।

नेपाली काँग्रेसभित्र पनि मन्त्री बन्ने हानथाप छ । काँग्रेसमा देउवा पक्ष र देउवा इतर पक्षबीच हानथाप बढेको हो । ओमप्रकाश सराबगी, प्रकाशप्रताप हाङ्गाम, बिन्दिया कार्की, शेखरचन्द्र थापा मन्त्री बन्ने दौडमा छन् ।

देउवा समूहका हिमाल कार्की यस अघिको मन्त्रीमण्डलमा सहभागी भइसकेकाले अब बिस्तार हुने मन्त्रीमण्डलमा कृष्णप्रसाद सिटौला पक्षका सराबगीको सम्भावना बलियो छ ।

सरकारको नेतृत्व गरेको पार्टी नेकपा एकीकृत समाजवादीबाट सरिता थापा, उपेन्द्र घिमिरे, खिनु लङ्वा लिम्बू मन्त्री बन्ने लाइनमा छन् ।

नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता एव आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार सानो आकारको मन्त्रीमण्डल विस्तार हुनेछ ।

मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिएर लगत्तै गठबन्धनले केही दिनभित्र मन्त्रालयको भागबण्डा टुङ्ग्याउने उनले बताए ।स्रोत रातोपाटी

 

प्रकाशित मिति: Nov 10, 2021

प्रतिक्रिया दिनुहोस्