नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि शुरु
नेपालीहरुको दोस्रो ठूलो चाड यमपञ्चक आजबाट शुरु भएको छ । आज बेलुकी यमपञ्चक अन्तर्गतको यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि आजै परेको छ । यमदीपदान आजदेखि सुरु हुने भए पनि काग र कुकुर तिहार भोलि परेको समितिले जनाएको छ ।
बेलुकी त्रयोदशी तिथि परेको दिन यमदीपदान सुरु हुन्छ ।यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक सुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।भोलि बिहान ७ बजेर १४ मिनेटसम्म त्रयोदशी तिथि छ ।
त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । बिहान सवा ७ देखि चतुर्दशी तिथि लाग्ने भएकाले कुकुर तिहार पनि भोलि नैं परेको छ ।
कात्तिक १८ गते बिहीबार बिहान नरक स्नानसहित लक्ष्मी पूजा गर्नुपर्छ । गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक १९ गते शुक्रबार परेको छ ।
कात्तिक २० गते शनिबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान ११ बजेर २ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको छ ।