प्रधानन्याधीशविरुद्ध कानून व्यवसायीले गरे कालोपट्टी बाँधेर प्रदर्शन, सर्वोच्च परिसरमा कडाइ
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सर्वोच्च अदालत परिसरमा कानून व्यवसायीले गरे कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । साथैप्रदर्शनलाई लक्षित गरी सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सर्वोच्च अदालत भित्र र बाहिर सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।प्रहरीका गाडी पनि तयारी अवस्थामा राखिएको छ । सर्वोच्च अदालतका कर्मचारीहरुलाई मुख्य गेटमा परिचय पत्र देखाएरमात्र प्रवेश गर्न दिइएको छ । कर्मचारी बाहेकलाई प्रवेश गर्न दिइएको छैन ।
बार एशोसिएसनले आज बिहान १० बजेदेखि ११ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोधको कार्यक्रम आयोजना गरेको छ । विरोधको यो कार्यक्रम आजदेखि तीन दिनसम्म हुने एशोसिएसनले जनाएको छ ।
त्यस्तै कानुन व्यवसायीहरुले कालोपट्टी मागेर प्रदर्शन गरिरहेको बेला एउटा समूहले हातमा सेतो पट्टी बाँधेर प्रदर्शन गरेको छ ।कसैकसैले कालो र सेतो पट्टी दुवै बाँधेर प्रदर्शन गरेका छन् ।
नेपाल बारका केही कुरामा सहमति र केही कुरामा असहमति भएकाले कालो र सेतो दुवै पट्टी बाँधेर प्रदर्शन गरेको उनीहरुले बताएका छन् ।यसरी प्रदर्शन गर्नेमा कानुन व्यवसायी स्वागत नेपाल र भूमिनन्द चुँडाल लगायत छन् ।
प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उनको राजीनामा माग्दै विरोधका कार्यक्रम घोषणा गरेको छ।
पूर्वनिर्धारित कार्यक्रम अनुसार नेपाल बारले १६ गते सर्वोच्च अदालत परिसरमा धर्ना तथा विरोधसभा गर्ने निर्णय गरेको छ । १६ गतेसम्म पनि राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्ने नेपाल बारले जनाएको छ ।