पूर्व न्यायाधीश फोरमले माग्यो प्रधानन्यायाधीश जबराको राजीनामा
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा पूर्व न्यायाधीश फोरमले नेपालले माग गरेको छ ।
फोरम नेपालले विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश राणाको कार्यशैली, व्यवहार र आचरणमाथि गम्भीर प्रश्न उठाउँदै राणालाई मार्ग प्रशस्त गर्न भनेको छ ।
पूर्व प्रधानन्यायाधीश फोरमले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीशको पनि कोटा भन्ने शीर्षक राखी प्रिन्ट मिडिया र अनलाइनमा समाचार सम्प्रेषण हुनु र त्यसको नेपाल बार एसोसियशनतर्फबाट समेत भएको विरोधको बाबजुद प्रधानन्यायाधीशको नाताका मानिस मन्त्रिपरिषद्मा समावेश गराइनु र चर्को विरोधपश्चात मन्त्रीको राजीनामा आउनुले प्रधानन्यायाधीशको आचरण र व्यवहारमा नै गम्भीर शंका उत्पन्न गराएको छ ।’
सरकारसँग भागबण्डा खोज्नु, सर्वोच्चमा तोकिने पेसी सूची निर्धारणमा गर्दा व्यापक मनोमानी हुनु, गुनासोको सुनुवाइ नहुनु लगायतमा प्रश्न उठाउँदै फोरमले प्रधानन्यायाधीश राणाप्रति प्रश्न उठाएको छ । ‘न्यायपालिकाको गरिमा, विश्वसनीयता, जनआस्था र स्वतन्त्रता जोगाउनका लागि प्रधानन्यायाधीश स्वयंले निकास दिनु यथोचित हुनसक्दछ । र, यो वाञ्छनीय र अनिवार्य पनि देखिएको छ’, १५ बुँदामा जारी विज्ञप्तिमा भनिएको छ ।
२९ असोजमा जबराले दिएको शुभकामना सन्देशमा भनेका थिए,‘अनावश्यक रुपमा हुने आशंका वा टीकाटिप्पणीबाट न्यायपालिकाप्रतिको आस्था र विश्वासमा प्रतिकूल प्रभाव पर्नसक्नेतर्फ संवेदनशील रहन हार्दिकतापूर्वक अनुरोध गर्दै आसन्न चाडपर्वहरुले न्यायपालिकाको श्रीवृद्धिका लागि हामी सबैलाई आ आफ्नो ठाउँबाट योगदान गर्नसक्ने थप ऊर्जा, हौसला तथा प्रेरणा प्रदान गर्ने छन् भन्ने कामनासमेत गर्दछु ।’
जबरामाथि नाताले जेठान पर्ने गजेन्द्र हमाललाई मन्त्री बनाउन पदको दुरुपयोग गरेको आरोप लागिरहँदा शुभकामना विज्ञप्ति यस प्रकारले आएको थियो । उनीमाथि पूर्व प्रधानन्यायाधीश र न्यायाधीशमात्र नभई प्रभावशाली केही कानुन व्यवसायी पनि खनिदै आएका थिए । यो सबै उनीविरुद्ध महाभियोग लगाउने योजनाले भइरहेका थिए । आज त्यो योजना थप खुलेको छ ।