राष्ट्रिय फुटबल टोली नेपाल फर्कियाे, अल्मुताइरी कुवेत प्रस्थान
नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यहरु स्वदेश फर्किएका छन् । सोमबार बिहान साफ च्याम्पियनसीपमा उपविजेता बनेको नेपाली फुटबल टिमका सदस्यहरु स्वदेश फर्किएका हुन् ।
खेलाडीहरूलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, एन्फा पदाधिकारी, परिवारका सदस्यहरु लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
यता, राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने कुवेत प्रस्थान गरेका छन् । मुख्य प्रशिक्षक अल्मुताइरी माल्दिभ्सबाट कतार हुँदै घर फर्किएका हुन् ।
माल्दिभ्समा आयोजना भएको प्रतियोगिताको फाइनलमा नेपाली टोली भारतसँग ३-० ले पराजित भएको थियो । साफ च्याम्पियनसीपमा नेपाल फाइनलसम्म पुगेको यो पहिलो अवसर थियो ।
६ महिना भन्दा लामो समयदेखि राष्ट्रिय टोलीको प्रशिक्षणमा व्यस्त रहेका कारण आफूले केहि दिनको विश्राम चाहेको अलमुताइरीले बताएका थिए । उनले केहि दिनपछि मात्र नेपाली टोलीको प्रशिक्षकमा कायम रहने वा नरहने विषयमा निर्णय लिने बताएका थिए ।