भारतीय कांग्रेसकी नेता प्रियंका गान्धी पक्राउ
बैंक भारतीय कांग्रेसकी नेता प्रियंका गान्धीलाई पक्राउ गरिएको छ । उत्तरप्रदेशमा पर्ने लखिमपुर खिरी भन्ने स्थानमा जारी किसानहरुको आन्दोलनमा सहभागी हुन जाने क्रममा उनलाई प्रहरीले हिरासतमा लिएको हो ।
भारतको उत्तर प्रदेशको लखिमपुर खिरीमा आइतबार केन्द्रीयमन्त्री अजय मिश्रका छोरा आशिषको गाडीले कुल्चिएर किसानको मृत्य भएको दाबी गरिएको छ ।
प्रियंका मृतकको परिवारलाई पनि भेट्ने उद्देश्यले अबेर राती दिल्लीबाट लखनउ पुगेकी थिइन् । त्यसको केही बेरपछि उनी लखिमपुरका लागि जाने क्रममा बिहान साढे पाँच बजे प्रहरीले सीतापुर जिल्लाको हरगांज बोर्डरमा हिरासतमा लिएको हो ।
राज्यका कांग्रेस प्रमुख अजय कुमार लल्लूले यसबारे पुष्टि गरेका छन् । उनले भनेका छन्, ‘प्रियंका गान्धीजीलाई पक्राउ गरिएको छ । के कसैको दुःखमा समावेश हुनु अपराध हो ? ’
भारत सरकारले ल्याएको कृषि कानुनविरुद्ध किसानहरू लामो समयदेखि आन्दोलनमा उत्रिएका छन् । प्रहरीले आशिषविरुद्ध हत्याको मुद्दा दर्ता गरेको छ ।
आशिषसमेत १४ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । लखिमपुर खिरीमा आइतबारको किसान आन्दोलनबीच भड्किएको हिंसामा ८ जनाको मृत्यु भएको थियो ।