Logo
३० कार्तिक २०८१, शुक्रबार
(September 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिजो जहाँतही वाईसिएल भन्दा डराउर्थे, अहिले मुलुकमा ओली आतंक छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा अहिले केपी ओली आतंक रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा अनेरास्ववियु क्रान्तिकारीको २२औँ सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हिजो वाईसीएलको आतंकजस्तै मुलुकमा केपी ओली आतंक रहेको बताएका हुन् ।

‘हिजो हामी शान्ति प्रक्रियामा आइसकेपछि वाईसीएल भनेपछि सबै डराउँथे । वाईसीएल बाहिर निस्किएपछि आयो है भनेर गुण्डाहरू डराउँथे,’ उनले भने, ‘तर अहिले देशमा केपी आतंक छ ।’

उनले आफूहरुमाथि केपी ओली आतंक भएको बताए । ‘मुलुक र हामीमाथि ओली आतंक छ,’ उनले भने, ‘हामीलाई टुक्राटुक्रा पारेका छौँ भनेर दंग परेका छन् । ओलीको आतंक छ । कमल थापाहरुको आतंक छ देशमा । कहाँबाट कहाँ पुगेकाहरूको आतंक छ । त्यो प्रवृत्तिविरुद्ध हामी लड्ने नै हो ।’

प्रचण्डले पार्टीका नेताहरुको क्रान्तिकारी चरित्र स्खलित हुँदै गएको बताएका छन्।
अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई बिहीबार काठमाडौंमा सम्बोधनका क्रममा प्रचण्डले यस्तो भनेका हुन्।

‘हामीले जनताको भावनाको प्रतिनिधित्व गर्दै मौलिक क्रान्ति गर्‍यौँ।

तर अहिले हाम्रो क्रान्तिकारी चरित्रमा ह्रास आएको छ’, उनले भने, ‘हाम्रो क्रान्तिकारी कार्यशैलीमा स्खलन भएको छ। हामी विस्तारै विस्तारै जनयुद्ध र जनआन्दोलनलाई भुल्दैछौँ।’ उनले हिजो प्रतिगामीहरुले आन्दोलनकारीलाई दबाउन खोज्ने जस्तै अहिले माओवादी नेता कार्यकर्ता पद र पैसाको लोभमा फस्दै गएको बताए।

‘हामी अहिले पद, पैसा, कमिसनको लोभमा फसेका छौँ,’ उनले भने, ‘दलाल पुँजीपतिहरुसँग बढी नजिक हुने भएका छौँ। हिजो जनयुद्धका कुरा त विस्मृतिमा पो पुगे। आज जो जति माथि पुगे, त्यति नै बडो अवसरवादी निस्किए। जो मन्त्री भयो त्यो पतन भएर गयो।’

उनले माओवादीमा उच्च पदमा पुग्नेहरु दलाल बनेको पनि दाबी गरे। ‘जो जति माथि आयो त्यो दलालसँग लाग्यो। हामी पनि उनै मान्छे छौँ’, उनले भने, ‘म जनयुद्धको पनि कमाण्डर, शान्ति प्रक्रियाको नेता हो। तर म पनि हेर्दा हेर्दै बिग्रिए जस्तो लाग्दैछ।’

दाहालले हिजो जनयुद्धमा लडाइँका क्रममा मर्न तयार भएर अग्रसर हुनेहरु आज पदको लोभमा फसेको बताए।

‘हिजो मलाई मोर्चा मर्न पठाउनु, मर्न तयार छु भनेर रोज्नेहरु, लड्न जान पाइएन, मर्न जान पाइएन भन्ने हामी आज बिग्रियौँ’, उनले भने, ‘ अहिले पद पाइएन, पैसा पाइएन भनेर रुने भयौँ। मन्त्री पाइएन भने। रुने भयौँ। हामीले थाहै नपाई सहिद परिवारलाई भुल्यौँ, जनयुद्ध बिर्सियौँ।’

प्रकाशित मिति: Sep 30, 2021

प्रतिक्रिया दिनुहोस्