Logo
४ आश्विन २०८१, शुक्रबार
(September 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२ महिना बित्न लाग्यो तर जयसिंह धामीका परिवारले पाएनन न्याय !

महाकाली नदीमा नेपाली नागरिकलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले तुइन काटेर खसाएको २ महिना बित्न लागेको छ।

गत साउन १५ गते महाकाली नदी तर्दै गर्दा एसएसबीले तुइन काटिदिँदा दार्चुलाको व्यास गाउँपालिका–२ मालगाउँका ३३ वर्षीय जयसिंह धामी खसेर बेपत्ता भएका हुन्।

तर घटना भएको २ महिना बित्नै लाग्दा पनि सरकारले पीडितलाई न्याय दिन सकेको छैन। घटना छानबिनका लागि गत साउन १७ गते गृहमन्त्री बालकृष्ण खाँणले सहसचिव जनार्दन शर्माको संयोजकत्वमा समिति बनाएका थिए।

छानबिन समितिले भारतीय सुरक्षा बल (एसएसबी) को उपस्थितिमा घटना भएको निष्कर्ष निकालेको थियो। भदौ १५ गते समितिले गृहमन्त्री खाँणलाई प्रतिवेदन बुझाउँदै एसएसबीको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कारबाही गर्न सिफारिस पनि गरेको थियो।

तर अहिलेसम्म यस विषयमा कुनै कारबाही प्रक्रिया अघि नबढाइएको हो। घटनामा सरकारले उदासीनता देखाएको गुनासो जयसिंहका भाइ नरेन्द्र सिंह धामीले गरे।

‘सरकारले सीमावासीको पीडा सुनेको छैन। दाइ (जयसिंह) लाई न्याय दिन सरकारले तदारुकता देखाउनुपर्ने हो’, उनले भने, ‘तर सुरुवातदेखि नै सरकार त्यसमा चुक्यो। सरकारकै उदासीनताले गर्दा हामीले न्याय पाउन सकेका छैनौं।’

घटना भएको दुई महिना बित्न लाग्दा पनि दोषी एसएसबीलाई कारबाही नहुँदा न्याय पाउने आशा मरेको उनले बताए।

‘छानबिन समितिको प्रतिवेदनपछि सरकारले एक्सन लिने र न्याय पाउने आशा थियो। प्रतिवेदन बुझाएको पनि एक महिना भइसक्यो तर सरकारले केही एक्सन लिन सकेको छैन’, उनले भने, ‘एसएसबीलाई कारबाही गर भन्न सकेको छैन। अब त न्याय पाउने आशा नै मरेको छ।’

प्रकाशित मिति: Sep 29, 2021

प्रतिक्रिया दिनुहोस्