Logo
३० कार्तिक २०८१, शुक्रबार
(September 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले अध्यक्ष ओलीको गुनासो : देउवाले संविधान मिच्दा मिडियाले लेखेनन् !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान मिच्दा पनि सञ्चार माध्यम चुप लागेर बसेको भन्दै आक्रोस पोखेका छन् ।

मंगलबार प्रमुख सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा उनले अहिलेको सरकारलाई सञ्चार माध्यमले आफ्नो सरकारलाई जति खबरदारी नगरेको बताए । ‘संविधान मिचिँदा पनि सञ्चार माध्यम चुप लागेको जस्तो देखियो’ उनले भने ।

पूर्वप्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई खबरदारी नपुगेको पनि बताए । आफ्नो सरकारलाई सञ्चार माध्यमले खबरदारी गरेर धेरै सहयोग गरेको भन्दै ओलीले त्यसका लागि सम्पादकहरुलाई धन्यवाद दिए ।

‘सरकारलाई खबरदारी गरेर भने लापरवाहजस्तो हुँदो रहेछ, जस्तो अहिलेको सरकार’ उनले भने, ‘अहिलेको सरकारलाई खबरदारी पुगेन कि जस्तो लाग्छ, संविधान कानुनको मतलब छैन ।’

ओलीले सञ्चार माध्यमसँग आफ्नो उद्देश्य मिल्ने भन्दै कहिँ समस्या भए समाधान गर्नुपर्ने बताए । ‘प्रेस र मेरो उद्देश्य समान छ- लोकतन्त्र सुदृढीकरण । कहिँ खटपट छ भने अब त्यो सकिनुपर्छ’ उनले भने ।

ओलीले आफ्नो पार्टी फुटाउने मनसायले नै सरकारले अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएका छन् ।

ओलीले परमादेशबाट सरकार बन्दा केहीलाई हाइसन्चो भए पनि यसले लोकतन्त्र कमजोर पार्ने बताए । ‘अहिले कतिलाई हाइसन्चो छ तर दीर्घकालमा देश र लोकतन्त्रले हार्छ । हामी लोकतान्त्रिक प्रणालीको भविष्य प्रति चिन्तित छौं’ उनले भने ।

सरकारले २ भदौमा संसदीय दल वा पार्टीको केन्द्री समितिको २० प्रतिशत संख्या भएमा दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो ।

उक्त अध्यादेश अनुसार नेकपा एमाले विभाजन भएर माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भयो भने जनता समाजवादी दल विभाजन भएर महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी बनेको छ । उक्त अध्यादेश सरकारले सोमबार भने खारेज गरेको छ ।

संघीय संसद चलिरहेको अवस्थामा देशलाई तत्काल आवश्यक परेमा मात्र अध्यादेश ल्याउन सकिने भन्दै ओलीले चलिरहेको संसद अचानक बन्द गरेर अध्यादेश ल्याउनु संविधान विपरीत र अलोकतान्त्रिक भएको बताए ।

‘पछिल्लो पल्ट त त्यही उद्देश्य (अर्काको पार्टी विभाजन) का साथ चलिरहेको अधिवेशन अन्त्य गरेर भोलिपल्ट विहान अध्यादेश ल्याउने काम भयो । यो संविधानसम्मत भएन’ ओलीले भने ।

प्रकाशित मिति: Sep 28, 2021

प्रतिक्रिया दिनुहोस्