Logo
४ आश्विन २०८१, शुक्रबार
(September 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेमा सात उपाध्यक्षको व्यवस्था गर्न माग

नेकपा (एमाले)मा सात जना उपाध्यक्षको व्यवस्था हुनुपर्ने माग उठेको छ। एक प्रदेशबाट एक उपाध्यक्ष हुनुपर्ने माग एमालेमा उठेको हो।

ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय कमिटी बैठकमा प्रदेश १ को तर्फबाट समूहको निष्कर्ष सुनाउँदै टोली नेता हिक्मत कार्कीले कमिटी प्रणालीलाई व्यवस्थित गर्न त्यसैअनुसार व्यवस्थापन गरिनुपर्ने बताएका हुन्।

केन्द्रीय कमिटी २२५ भन्दा ठूलो आकार बनाउनुपर्ने, प्रदेश कमिटीलाई कार्यकारी कमिटीकै रूपमा अगाडि बढाउनुपर्ने, सातवटै प्रदेश सम्पर्क मञ्च बनाइनुपर्ने उक्त समूहको निष्कर्ष छ। केन्द्रीय र प्रादेशिक तथा स्थानीय कमिटीलाई पूर्ण समावेशी बनाउनुपर्ने, शुद्धीकरण अभियान चलाइनुपर्ने, विधान महाधिवेशनलाई नीति तथा विधान महाधिवेशन भनेर व्यवस्था गरेर जानुपर्ने उनीहरूको सुझाव छ।

राजनीतिक प्रतिवेदनमा एमाले सरकारलाई परमादेशबाट हटाइएको विषयलाई लिपिवद्ध बनाउनुपर्ने, पार्टी विभाजन, महाधिवेशनपछिको अवस्था, चुनावी गठबन्धनसम्मको अवस्थालाई प्रष्ट रूपमा ल्याउनुपर्ने, सुदृढ र एकताबद्व एमाले बनाएर लैजाने विषय राखिनुपर्ने उनीहरूको सुझाव छ।

‘निर्वाचन प्रणालीलाई कम खर्चिलो बनाउने योजना बनाउनुपर्छ र त्यसको नेतृत्व एमालेले लिनुपर्छ। नेकपा एमालेलाई कम्युनिस्ट आन्दोलनको अगुवाइ गर्ने पार्टी भएकाले अध्यक्षले त्यसलाई ध्यान दिएर अगाडि बढ्नुपर्छ’, कार्कीले भने।

प्रकाशित मिति: Sep 25, 2021

प्रतिक्रिया दिनुहोस्