Logo
३० कार्तिक २०८१, शुक्रबार
(September 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घरजग्गा व्यवसायी सुधीर बस्नेतबाट पीडित २०० कर्मचारीहरूले प्रधानमन्त्री गुहारे

घरजग्गा व्यवसायी सुधीर बस्नेतबाट पीडित २०० कर्मचारीहरूले प्रधानमन्त्री गुहारेका छन् । ओरियन्टल कोअपरेटिभ, अग्नी एयरलायन्स, ओरियन्टल बिल्डर्स, कोहिनुर बचत तथा सहकारी, कन्जुमर बचत तथा सहकारी, भेगा बचत तथा सहकारी र विभिन्न बिल्डर्स कम्पनीका कर्मचारीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

ती कर्मचारीहरूका नाममा विभन्‍न कम्पनी खोलेर बस्नेतले बैंकबाट करोडौँ रुपैयाँ ऋण लिएका थिए । बैंकहरूले ऋण तिर्न कर्मचारीहरूलाई ताकेता गरिरहेको भन्दै उनीहरू प्रधानमन्त्री कार्यालयको ढोकामा पुगेका हुन् ।

‘हामी हाम्रो मालिक सुधीर बस्नेतबाट फालिएको कर्मचारीहरू हो । हामीले निष्ठापूर्वक मालिकको सेवा गर्‍यौँ । मालिक सुधिर बस्नेतले भने बमोजिम हाम्रो नाममा विभिन्न कम्पनीको खोलिएका छन्,’ पत्रमा भनिएको छ, ‘करोडौँ रुपैयाँको ऋण बैंकबाट हाम्रो नाममा लिएको बैंकबाट ऋण तिर्न ताकेता गरेको छ । घरमा चिठ्ठी पठाइरहेको छ ।’

उनीहरूले सुधीर बस्नेतलाई यसबारे खबर गर्दा ‘मैले ऋण लिएको होइन जसले लिएको ऋण उसैले तिर्छ’ भन्दै पछि हटेको बताएका छन् । बैंकबाट ऋण लिँदा बैंकसँग मिलेमतो गरी धेरै कम मूल्य भएको भिरपाखाको जग्गालाई अधिक मूल्य बनाए ऋण दिन लगाएको उनीहरूको आरोप छ । बैंकले कर्मचारीहरूलाई कालोसूचीमा राखेर अत्यधिक पौडा दिइरहेको उल्लेख छ । उनीहरूले भनेका छन्, ‘हामी कर्मचारीहरुमा पाँच जना कर्मचारीको मृत्यु भएको छ । अत्यधिक पीडा सहन नसकेर हृदयघात र रक्तश्राव भएको मृत्यु भएको छ ।’

सरकारले समस्याग्रस्त सहकारी आयोग गठन गरेको थियो । भुपु न्यायाधीश गौरीबहादुर कार्कीलाई अध्यक्षमा नियुक्त भएका थिए । तर कार्कीकै मिलेमतोमा जग्गा बिक्री भएको उनीहरूले आरोप लगाएका छन् ।

ललितपुर छम्पी गाविसको सात सय रोपनी जग्गा अग्नि एयर लाइन्स प्रालि, ओरेन्टल, कोहिनुर, कन्जुमर, भेगा सहकारीमा रहेको ऋणहरू पनि उठाउँदै खाए । इम्पेरिय अपार्टमेन्ट, इस्टर्न अपार्टमेन्ट सानेपा हाइट, धुम्बाराही अपार्टमेन्ट, धापासी अपार्टमेन्ट पनि बिक्री भएको उल्लेख छ । भक्तपुरको गुण्डुस्थित पाँच सय रोपनी जग्गा, हेपाली हाइटको सय रोपनी जग्गा र निजगढको ३० विगाह जमिन, विराटनगरको सिनेमा हल र सपिङ मल पनि बेचियो ।

कर्मचारीलाई थाहा नदिई चार सय रोपनी जग्गा काठमाडौँ र अरु ठाउँको जग्गा पनि बेचियो । यसमा गौरीबहादुर कार्कीले ३० करोड रुपैयाँ आफ्नो फाइदाको लागि सम्पत्तिहरु सुधीर बस्नेतलाई एकलौटी रुपमा बेच्न दिएको उनीहरूको आरोप छ । समस्या समाधान गर्न गठन भएको आयोगलाई बिक्री गर्ने अधिकार नभए पनि बिक्री गरेर आएको रकम सुधीर बस्नेतले विदेशमा लगेर अमेरिकामा लगेर राखेको उनीहरूको आरोप छ ।

समस्याग्रस्त सहकारीमा अर्का अध्यक्ष आए, युवराज सुवेदी । जसले बाँकी बचेको सम्पतिलाई बिक्री गरेर सबैलाई भागबण्डा गर्न भनेर पत्रिकामा लिलामी समेत निकाले । तर रातारात अदालतबाट त्यो जग्गा रोक्का भयो । उनीहरूले समस्या समाधानका लागि उचित कदम चाल्न प्रधानमन्त्रीलाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति: Sep 21, 2021

प्रतिक्रिया दिनुहोस्