Logo
३० कार्तिक २०८१, शुक्रबार
(September 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारमा रहेको जसपाले भन्यो,‘संविधान मान्य छैन, संविधान दिवसको कार्यक्रममा सहभागि हुन्नौं’

जनता समाजवादी पार्टीले यसवर्षको संविधान दिवसको कार्यक्रममा सहभागी नहुने भएको छ ।

अध्यक्ष उपेन्द्र यादवले शनिबार विज्ञप्ति जारी गरी संविधानमा अधुरा र विभेदकारी प्रावधान राखिएको भन्दै आइतबार मनाइने संविधान दिवसको कार्यक्रममा भाग नलिने बताए ।

‘संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन र स्वायत्तता, समानुपातिक समावेशीकरणलगायतका प्रावधान पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा धेरै धाराहरुमा विभेदकारी प्रावधान राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवस २०७८ मा पनि भाग नलिने, विरोध गर्ने’ उनले विज्ञप्तिमा भनेका छन् ।

यादवले संविधानका विभेदकारी एवं त्रुटिपूर्ण प्रावधानको विरोध गर्न पनि आह्वान गरेका छन् । उनले विज्ञप्तिमा भनेका छन् ‘संविधानमा रहेका विभेदकारी एवं त्रुटीपूर्ण प्रावधानहरु परिवर्तनका लागि उक्त दिन असोज ३ गते संविधान संशोधनद्वारा यसलाई सच्याउनका लागि देशका प्रमुख स्थानहरुमा संविधान संशोधनको आवश्यकता विषयक अन्तर्क्रिया आयोजना गरी उक्त संविधानमा रहेका विभेदकारी प्रावधानको विरोध गर्न आम जनसमुदाय एवं पार्टीको संगठनहरुलाई आह्वान गरिन्छ ।’

नेपालको संविधान २०७२ ले मधेसी, आदिवासी जनजाति, दलित, महिला, खस, मुस्लिम, थारु, अल्पसंख्यक समुदायका साथै उत्पीडित जातजाति एवं समुदायले उठाउँदै आएको राष्ट्रिय मुद्दालाई सम्बोधन नगरेको यादवले बताए ।

प्रकाशित मिति: Sep 18, 2021

प्रतिक्रिया दिनुहोस्