अबको १० वर्ष महत्त्वपूर्ण घडी भएकोले युवा पुस्ता लागिपरे मात्र देशको विकास हुन्छ : अर्थमन्त्री
अर्थमन्त्री जनार्दन शर्माले अबको एक दशक नेपाल राष्ट्रको लागि महत्त्वपूर्ण घडी भएको बताउँदै यो अवधिमा युवा पुस्ताले धेरै समस्याहरुलाई पन्छाउँदै विकास प्रगतितिर अघि बढ्नुपर्ने बताएका छन् ।
बुधबार ज्ञानकुञ्ज एजुकेसन फाउन्डेसन प्रालि भवनको शिलान्यास कार्यक्रममा अबको १० वर्ष नेपाल राष्ट्रको लागि महत्त्वपूर्ण रहेको बताउँदै उनले यही अवधिमा चुनौतिहरुलाई पन्छाउँदै प्रगतितर्फ अगाडि बढ्नुपर्ने बताए ।
अबको युवापुस्ताले देश विकास गर्ने जिम्मा अब आफ्नो भएको भन्ने कुरा सोचेर अघि बढ्नुपर्ने उनले बताए ।उनले अहिलेको युवा पुस्ताले अबको एक दशक देश विकासका लागि समय ननिकाल्ने हो भने वृद्धावस्थामा देश विकास गर्छु भनेर पनि नसकिने धारणा व्यक्त राखे ।
शर्माले प्रकृतिले दिएको सुन्दर उपहारले नेपाल भरिपूर्ण भएकोले शैक्षिक र सक्षम जनशक्ति तथा स्रोतको एकताबाट मात्रै देश विकास सम्भव हुने बताएका छन् ।
उनले भने, ‘देश विकास गर्न हामीसँग भएको पर्याप्त साधन, स्रोत, जनशक्ति अहिले जे छ, नेपाल युवा बहुल जनशक्तिमा छ, यो १० वर्षको अवधिमा हामीले यो देशलाई विकास गर्न सक्यौँ भने यो एउटा अवसर हो, यदि यो १० वर्षको अवधि प्रयोग गर्न सकेनौँ भने क्रमशः अहिलेको युवा, प्रौढ हुँदै, वृद्ध हुँदै बुढाहरुको बाहुल्य हुने अवस्था सिर्जना हुन्छ, त्यति बेला हामी विकास गर्छौँ भनेर पनि, हाम्रो श्रम प्रयोग गर्छौँ भनेर पनि नसक्ने अवस्था सिर्जना हुन्छ।’
शर्माले युवाले देखेको देशको विकास र समृद्धिमा भ्रष्टाचार, राजनैतिक समस्या भइरहेकोले उनीहरु निराश भएको र अब त्यस्तो नैराश्य पैदा हुन नदिने आश्वासन दिए ।
शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेर अघि बढ्ने क्रममा राजनीतिले लय छोड्न थालेको, प्रतिगमनको बाटो लिएपछि त्यस विरुद्ध अहिले जनता जुर्मुराएर राजनीतिलाई लयमा ल्याएको धारणा राखे ।
उनले देशमा उत्पादनमुखी अर्थतन्त्रको आवश्यकता रहेको भन्दै आफूसँग भएका स्रोत साधनहरुलाई प्रयोग गरेर आत्मनिर्भर बन्न सकिने बताए ।