Logo
२७ फाल्गुन २०८१, मंगलबार
(August 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किर्गिस्तानमा नोभेम्बर २८ मा संसदीय निर्वाचन हुने

किर्गिस्तानमा संसदीय निर्वाचन आगामी नोभेम्बर २८ मा हुने गरी मिति घोषणा गरिएको छ ।राष्ट्रपति सादिर जपारोफले निर्वाचनको मिति घोषणा गरिएको निर्णयमा हस्ताक्षर गरिसकेको अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।

जनमत सङ्ग्रहबाट संशोधन गरिएको संवैधानिक व्यवस्थाअनुसार निर्वाचन घोषणा गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

अहिले निर्धारण गरिएको निर्वाचनबाट ९० जना प्रतिनिधिहरू पाँच वर्षका लागि निर्वाचित हुने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

संशोधन गर्नु अगाडिको संविधानअनुसार पार्टीहरूले पाएको मतका आधारमा संसद्का लागि १२० जना प्रतिनिधिहरू छनौट हुने व्यवस्था रहेको थियो ।

केही महिना अगाडि भएको किर्गिस्तानको राष्ट्रपतीय चुनावबाट जपारोफ ठुलो मतका साथ विजयी भएका थिए। राजनीतिक प्रतिद्वन्द्वीलाई बन्धक बनाएको आरोपमा जेल जीवनसमेत बिताएका जपारोफले नयाँ अधिकारसहित राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

किर्गिस्तानमा यसअघि गत अक्टोबरमा भएको संसदीय निर्वाचन विवादमा परेर राजनीतिक सङ्कट उत्पन्न भएको थियो । उक्त चुनावको परिणाम विवादित बनेपछि विरोध चर्किँदै जाँदा तत्कालीन राष्ट्रपति सोरोनबी जेनबेयकोफले राजीनामा दिन बाध्य हुनु पारेको थियो ।

किर्गिस्तानमा ठुलो आर्थिक सङ्कट रहेको छ भने त्यसको व्यवस्थापन अहिलेको प्रमुख चुनौती देखिएको छ ।त्यसै गरी बेरोजगारी पनि किर्गिस्तानको अर्को ठुलो समस्या हो । देशमा रोजगारी नपाउँदा हजारौँ युवाहरू बिदेसिन बाध्य भएका छन् ।रासस

प्रकाशित मिति: Aug 30, 2021

प्रतिक्रिया दिनुहोस्