जनतालाई खुसी र समृद्ध बनाउने कार्यक्रम ल्याउने नवनियुक्त मुख्यमन्त्री केसीको घोषणा
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले छिट्टै विश्वासको मत लिएर जनतालाई खुसी र समृद्ध बनाउने कार्यक्रम ल्याउने घोषणा गरेका छन् ।
मुख्यमन्त्री केसीले छिट्टै विश्वासको मत लिएर लोकतन्त्र, संविधान र संघीयताको स्पिरिटमा जनतासँग हातेमालो जान चाहेको स्पष्ट पारे ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रममा अन्तर्वार्ता दिँदै मुख्यमन्त्री केसीले भने, “अहिले सरकारको ध्यान कोभिड महामारीका सन्दर्भमा खोपको व्यवस्थापनमै छ । शिक्षा र स्वास्थ्यमा पनि हाम्रो जोड छ । मुटु, क्यान्सर, मिर्गौला पीडितलाई प्रदेश सरकारले तीन लाख दिने निर्णय गरिसकेको छ । हामी लोकतन्त्र, संविधान र संघीयताको स्पिरिटमा जनता सँगसँगै जान सक्छौं ।”
उनले अघिल्लो सरकारले ल्याएको बजेटको पुनरावलोकन गरी नयाँ नीति र कार्यक्रम आउने पनि जानकारी दिए । तर उनले केसीले पूर्ववर्ती प्रदेश सरकारले ल्याएको पञ्चवर्षीय गुरुयोजना र बहुवर्षीय योजनामा आम सहमति भएकाले त्यसलाई नरोकिने पनि बताए ।
गत वैशाख ६ गतेदेखि चार महिने संघर्षमा साथै रहेको गठबन्धनका दलहरुबीच आगामी चुनावसम्म कुनै टुटफुट नआउने र निरन्तर सहकार्य हुने दाबी उनले गरे । गठबन्धन भत्काउन निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले खेलेको नकारात्मक भूमिकालाई ख्याल गरेर काम गर्ने पनि बताए ।
जसपाका तीनजनालाई मन्त्री दिनु सम्मान भएको उनले बताए । उनले भने, “लुम्बिनी प्रदेशमा पूर्व सत्तापक्षका कारण जसपाले निकै क्षति बेहोरेको छ । दलको मान्यता नदिने चलखेल पनि भए । त्यसकारण जनता र कार्यकर्तालाई इन्ट्याक्टमा राख्न हामीले केही पछि हटेर भए पनि मन्त्रीमण्डलमा समावेश गरेका छौं ।”
लुम्बिनी प्रदेशको विवादास्पद मिडिया काउन्सिल विधेयकमा भएका त्रुटिलाई सच्चाएर सञ्चारमैत्री बनाइने पनि उनले बताए । मिडिया काउन्सिल विधेयकमा रहेको सञ्चारमाध्यमको दर्ता नवीकरण बन्द र पत्रकारलाई कैद सजायको व्यवस्थाबारे विवाद छ । मन्त्रीको अध्यक्षतामा काउन्सिल प्रस्तावको नेपाल पत्रकार महासंघले आपत्ति जनाइसकेको छ । उनले भने, “जनताको चाहना बाहिर हिँड्ने छैनौं ।” साथै उनले बुटवलदेखि बर्दियासम्मको लुम्बिनी प्रदेशको सुन्दर संरचना तयार हुने पनि विश्वास व्यक्त गरे ।रिपोटर नेपाल