Logo
४ आश्विन २०८१, शुक्रबार
(August 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महन्थ ठाकुर समूह भित्र चर्किदै विवाद !

जसपाको आधिकारिकता उपेन्द्र यादवले पाएपछि ‘तितरबितर’ भएको महन्थ ठाकुर पक्ष भित्र पनि पछिल्लो सयम असन्तुष्टि बढेको छ ।

तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालमा अध्यक्षमण्डलको प्रावधान थियो । अहिले पनि अध्यक्षमण्डलको अभ्यास भइरहेको भन्दै वृषेशचन्द्र लालहरुले असन्तुष्टी जनाउन थालेका छन् ।

जसपा नेपालमा यादवले पार्टीको आधिकारिकता प्राप्त गरेपछि जसपाका महन्थ ठाकुर पक्ष जिल्ला तथा प्रदेशमा कार्यकर्ता भेला लगायतका कार्यक्रम गरिरहेका छन् ।

कार्यक्रमको ढाँचा पुरानो अध्यक्षमण्डलीय प्रणालीमा रहेको भन्दै वृषेशचन्द्र लगायतका नेताले असन्तुष्टि जनाउँदै कार्यकर्ता भेला कार्यक्रम बहिष्कार गरेका छन् । वृषेशचन्द्र लाल, डा.विजय सिंहलगायतका नेताहरुलाई विभिन्न जिल्लामा खटाइएको थियो तर उनीहरु कुनै पनि कार्यक्रममा सहभागी भएनन् ।

लालले भने, ‘पार्टीमा आन्तरिक विवाद चलिरहेको छ, पार्टी दुई चिरामा विभाजित छ, तैपनि महन्थ ठाकुर पक्षका नेताहरुले अध्यक्षमण्डलीय प्रावधानलाई निरन्तरता दिनुभएको देखिन्छ ।’

उनका अनुसार अध्यक्षमण्डलीय प्रणालीले गर्दा नै तत्कालीन राजपा नेपालमा समस्या थियो । ‘राजपा वास्तवमा अध्यक्षमण्डलीय अभ्यासका कारण नै पार्टी बन्न सकिरहेको थिएन,’ उनले भने, ‘६ दलबीच एकता भए पनि पार्टी एकीकरणले पूर्णता पाइरहेको थिएन तर त्यो रोग अझै हटेको छैन ।’

जसपा महन्थ ठाकुर पक्षले जिल्ला जिल्लामा पार्टी अगुवा कार्यकर्ता भेला कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रमका लागि प्रमुख वक्ता चयन गर्दा पुरै अध्यक्षमण्डलीय ढाँचामा गरिएको उनको आरोप छ ।

‘राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झालागयतका नेताहरुलाई सोही अनुसार जिम्मेवारी दिइयो । कुनै नेता चार–चार ठाउँमा प्रमुख वक्ता भएर गए,’ उनले भने, ‘कुनै नेताले एक ठाउँ पनि मौका पाएनन्, यो अध्यक्षमण्डलीय ढाँचा नभए अरु के हो ?’

लाललगायतका नेताहरुले अध्यक्षमण्डलीय शैली हटाउनु पर्ने, संस्थागत विधि र विधिसम्मत निर्णय हुनुपर्ने, तीन-चारजना नेतामात्र बसेर गर्ने निर्णय मान्य नहुने, निर्वाचनमा टिकट बाँडफाँट गर्दा निर्वाचन समितिमार्फत गर्नुपर्ने, सबै नेता तथा कार्यकर्ताको समान हैसियत हुनुपर्ने भन्दै जसपाका अध्यक्ष महन्थ ठाकुरलाई ध्यानाकर्षण गराएका थिए ।

यी सबै कुराको सुनिश्चितता भएपछि मात्र आफूहरु कार्यक्रममा जाने र पार्टीमा सक्रिय हुने उनीहरुको भनाइ थियो । तर हालसम्म त्यसको कुनै सुनुवाई भएको छैन । पार्टीमा सुधार नभए आफूहरु सो पार्टीमा सक्रिय नहुने बरु स्वतन्त्र भएर काम गर्ने तर त्यस्तो विधिबाट चल्ने दलमा काम नगर्ने लाल बताउँछन् ।

प्रकाशित मिति: Aug 11, 2021

प्रतिक्रिया दिनुहोस्