यी १७ स्मरणीय काम गरेकाले प्रदेश प्रमुख अहिराजलाई हटाउदैँ देउवा सरकार !
नेपाली राष्ट्रियता र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिएका कारण केपी शर्मा ओली सरकारको पालामा नियुक्त भएका प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झा अहिराजलाई देउवा सरकारले पदमुक्त गर्ने तयारीमा रहेको छ ।
प्रदेश अहिराजलाई पदबाट तत्काल हटाउन बहुराष्ट्रिय राज्यको वकालत गर्ने जातीवादी र क्षेत्रियतावादीहरू निकै सक्रिय भएका छन् ।खासगरी उपेन्द्र यादव र उनको समुहले डा. राजेशलाई तुरुन्त हटाउनुपर्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डमाथि दबाब दिइरहेका छन् ।
राजेश झालाई पदमुक्त गरेर उक्त स्थानमा आफ्ना भाञ्जा चन्दन कौशिकलाई नियुक्त गराउने प्रयासमा काङ्ग्रेसका मनोनित उपसभापति विमलेन्द्र निधिबाट भइरहेको जानकारी उच्च स्रोतबाट प्राप्त भएको छ ।
अहिराज मधेसकै माटोमा जन्मिए, हुर्किए पनि मधेसका नेताहरुका कामकारबाहीबारे भने खरो आलोचना गर्ने गरेका थिए । प्रदेशप्रमुखको कार्यालयमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिर राखेको र, प्रदेश मन्त्रीहरूलाई नेपाली भाषामा शपथ लिन बाध्य पारेकोले उपेन्द्र तथा उनको टोली क्रुद्ध बनेको हो ।
प्रदेश सरकारमा तराईबासी पहाडी तथा अन्य केही समुदाय र महिलालाई समावेस नगरिनुलाई राजेशले संविधानप्रतिकुल कार्यको संज्ञा दिँदै मन्त्रिमण्डल र राज्यका अन्य निकायहरूलाई समावेशी बनाउन सम्बद्ध पक्षको ध्यानाकर्षण गराएका थिए ।
प्रदेश प्रमुखबाट त्यसरी लिखित रूपमै ध्यानाकर्षण गराएपछि ‘मधेशको नाममा मस्ती’ गर्दै आएका एकथरी क्रुद्ध भए पनि मधेशका उपेक्षित समुदायमा भने उत्साह जगाउने काम गरेको छ । राजेशको अग्रसरतापश्चात केही नागरिकले संविधानबमोजिम समावेशिताको अवधारणाअनुरुप कार्य गराउन माग गर्दै जनकपुरस्थित उच्च अदालतमा रिट दायर गरेका छन् । राजेश पदमा रहँदासम्म आफूहरूलाई अप्ठ्यारो पर्ने र, कदाचित उच्च अदालतले संविधानअनुरुप काम गर्न मूख्यमन्त्री र प्रदेश प्रमुखलाई आदेश दियो भने झनै ठूलो सकसमा पर्ने भन्दै उपेन्द्र यादवहरू राजेशलाई जति सकिन्छ चाँडै पदमुक्त गराउने प्रयासमा लागेका हुन् ।
उता उपेन्द्र यादवले चाहिँ कुनै मुसलमानलाई प्रदेश प्रमुख बनाएर विजय यादवलाई मुख्यमन्त्री चयन गर्ने सोच बनाएका छन् । हालका मूख्यमन्त्री लालबाबुको कामबाट यादव असन्तुष्ट रहेको र, उनको स्थानमा विजय यादवलाई नियुक्त गराउने तयारी भइरहेको बुझिएको छ । तर विजय यादवको थर यादव हुनुबाहेक अर्को कुन योग्यता भएर उनलाई मूख्यमन्त्री बनाउन खोजिएको हो, सो स्पष्ट हुन सकेको छैन ।
पत्रकारिता र राजनीतिमा अलग पहिचान बनाएका अहिराजलाई केपी ओली सरकारले २०७७ फागुन ७ गते प्रदेश २ को प्रमुखमा नियुक्त गरेको थियो ।
प्रदेश प्रमुख भएलगत्तै कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्बिर राख्ने, मन्त्रीको शपथ नेपाली भाषामै गराउने, मन्त्रिपरिषद् समावेशी बनाउन ध्यानाकर्षण गराउनदेखि विधेयकका कमजोरी देखाएर संसदमै फिर्ता पठाउनेलगायत काम गरेका थिए ।
राजेश अहिराजले छोटो समयमा गरेका राम्रा कामहरु-
– आफ्नो कार्यकक्षमा कार्यभार सम्हाल्ने बित्तिकै पृथ्वीनारायण शाहको पूर्ण कदको फोटो टाँसेको,
-मन्त्रीहरुको शपथ ग्रहण अनिवार्य नेपाली भाषामै गराएको,
-मन्त्रीमण्डलमा महिला सहितको समावेशी हुनुपर्छ भनेर प्रदेश सरकारलाई सुझाव दिएको ।
– प्रदेश -२ को सरकार, बजेट र कार्यक्रममा प्रदेश भित्र रहेका पहाडी समुदायलाई स्थान दिन सरकारलाई सुझाव दिएको।
– देशका सीमा स्तम्भ निरीक्षण गर्न सीमा क्षेत्रमै पुगेर,
– विधिसंवत् र देश हितमा नभएका दुई विधेयक लिखित सुझाव सहित संसदमा फिर्ता पठाएको,
– प्रदेश सरकारलाई समावेशी बनाउन लिखित पत्राचार गरेको,
-सडकमा भेटिएका घाईतेको उपचारका लागि आफ्नै सवारी साधन अस्पताल पठाएको,
– जातीय र सामुदायिक अतिवादलाई न्युन गर्दै समभावमा आधारित समाज निर्माणको पहल गरेको,
– शिरमा देश मधेशमा मन राखेर काम गर्न सबैलाई निर्देशन दिएर आफूले पनि गरेको,
-निजी स्वकीय सचिवालय नराखेर राज्यको पैसा जोगाएर र निजामती कर्मचारीमै विश्वास राखेको।
– नागरिकको सुखदुख बुझ्न घरआँगनमै पुगेको, किसानको पीडा बुझ्न खेतमै पुगेर र विद्यार्थीको पीडा बुझ्न विद्यालयमै पुगेको।
– कक्षा -१ मा नियमित अध्यापन गराउन गएर शिक्षण पेशा र शिक्षकको मर्यादा उच्च राख्ने काम गरेको।
– अनाथ र दुखी पीडितलाई आफ्नै तलबबाट पटक पटक राहत वितरण गरेको।
-कार्यालयका करारमा रहेका सहयोगी र चालकलाई आफ्नो तलबबाट रू २०र २० लाखको जीवनविमा गराईदिएको।
– दलभन्दा माथि उठेर देशका लागि काम गरेको।
– भेट्न आउनेलाई नेपालको झण्डा अङ्कित लोगो लगाइ दिएर पठाउने गरेको।
जातिवाद र क्षेत्रियतावादका हिमायतीहरू आफ्नो प्रयासमा सफल भए भने नेपालमा राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकताको पक्षमा काम गरेवापत दण्डित हुने सम्भवतः पहिलो व्यक्तिको रूपमा राजेशको नाम अङ्कित हुनेछ ।
देउवा सरकारले अहिराजलाई पदमुक्त गर्ने तयारी गरेकोमा ओली सरकारका तीब्र विरोधी रोधी पूर्वसचिव भीम उपाध्यायले नै पदेशप्रमुख राजेश अहिराजको कार्यलाई प्रशंसा गरेका छन् ।
अन्त्यमा उपाध्यायले टिप्पणी गरेका छन्- ‘काम गर्नेले अधिकार नभए पनि यसरी काम गर्छन् । यसलाई लिडरसिप भनिन्छ ।’