अब कोभिड खोपको दुवै मात्रा लगाएका व्यक्ति साउदी अरेबिया जान पाउने
साउदी अरेबियाले कोभिड १९ का विरुद्धको खोपको दुवै मात्रा लगाएका व्यक्तिलाई आफ्नो देशमा आउन पाउने अनुमति दिएको छ ।
कोभिड खोप दुवै मात्रा लगाएका व्यक्तिलाई मात्र देश भ्रमणको अनुमति दिइने निर्णय साउदी अरेबियाको सरकारले गरेको बताइएको छ ।
यसअघि साउदी अरेबियाले विभिन्न देशहरुबाट यात्रा प्रतिबन्ध लगाएको थियो । साउदी अरेबियामा पनि पछिल्लो समयमा कोभिडको नयाँ भेरिएन्ट भेटिएकोले धेरै मानिसहरु सङ्क्रमित हुन पुगेका छन् ।
त्यसैले कैयौँ देशबाट यात्रामा प्रतिबन्ध लगाएको साउदी अरेबियाले अहिले भने कोभिडको दुवै खोप लगाएका व्यक्तिलाई साउदी अरेबिया जान पाउने गरी खुला गरेको हो ।
यहाँका आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले सोमबार सो निर्णय गरेको हो । सो मन्त्रालयले कोभिडका विरुद्धको सतर्कताको एक अभियानका रुपमा यो नियम बनाएको हो ।
साउदी प्रेस एजेन्सीले सोमबार सो समाचार दिएको छ । उक्त एजेन्सीका अनुसार साउदी अरेबियाले यही अगस्ट ९ बाट यो यात्रा प्रतिबन्ध फुकुवा गरिने बताएको छ ।
यसअघि यहाँ कडा नयाँ भेरिएन्टका कारण धेरै ठुलो सङ्ख्यामा सङ्क्रमितहरू देखिएकामा पछिल्ला केही दिनमा त्यो सङ्क्रमणको सङ्ख्या घटेपछि यो निर्णय गरिएको हो ।
साउदी अरेबियाले गत मे १७ देखि यो यात्रा प्रतिबन्ध लगाएको थियो । त्यस यता यहाँ कैयौँ विदेशी उडानहरु पनि रोकिएको थियो ।