संसद् विघटन मुद्दाको फैसला आज
संसद् विघटनसम्बन्धी मुद्दाको पेशी आज तोकिएको छ । असार ९ गतेदेखि २१ गतेसम्म संवैधानिक इजलासमा निरन्तर सुनुवाइ भएको मुद्दाको आज पेशी तोकिएको हो ।
सम्भवतः आजै फैसला आउने सम्भावना रहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, डाक्टर आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा निरन्तर बहस भएको थियो । बहसमा दुवै पक्षका वकिलहरूलाई १५/१५ घण्टाको समय दिइएको थियो ।
निवेदक, सरकारी वकिल, प्रधानमन्त्री केपी शर्मा ओलीका निजी कानुन व्यवसायी, सभामुख अग्निप्रसाद सापकोटाका निजी कानुन व्यवसायी, एमिकस क्युरी हुँदै निवेदनको जवाफी बहस सुनेर इजलासले आजका लागि पेशी तोकेको हो ।
सो मुद्दामा पक्ष, विपक्ष, एमिकस क्युरीसहित ८२ जनाले आफ्नो तर्क राखेका थिए । ती बहसका तर्क, तथ्य, पेश भएका नजिर, विदेशी सन्र्दभ सामग्री र बहस नोट न्यायाधीशले अध्ययन गरेका छन् ।
संविधानको धारा ७६ (५) अनुसार सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीबाट आह्वान भएपछि काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी, माओवादी केन्द्र, एमाले नेपाल पक्षका २६ जना र जसपा उपेन्द्र यादव पक्षका १२ र जनमोर्चाकी दुर्गा पौडेलसहित १४९ जनाको हस्ताक्षरसहित दाबी गरेका थिए।
धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त नभएपछि ओलीको सिफारिसमा जेठ ७ गते प्रतिनिधिसभा विघटन भएको थियो। त्यस विरुद्ध १४६ जना सांसदले संसद् विघटन असंवैधानिक रहेको भन्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च पुगेका थिए।
प्रधानमन्त्रीमा ओलीले पनि दाबी गरेका थिए। देउवा र ओलीको दाबी परेपछि राष्ट्रपति भण्डारीले एमाले र जसपाका सांसदको हस्ताक्षर दुवै निवेदनमा रहेकाले विवादित ठहर गर्दै दुवैलाई प्रधानमन्त्री नियुक्त गर्न अस्वीकृत गरेकी थिइन्।