पहिरोमा परी तनहुँमा दुई जनाको मृत्यु, तीन घाइते
गण्डकी प्रदेश स्थित तनहुँमा अविरल बर्षासँगै आएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।पहिरोमा परी एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा बन्दीपुर-३ तामुङकी ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएका छन् ।
त्यस्तै गरी शुक्लागण्डकी नगरपालिका-९ स्थित सिम्लेमा पहिरो खस्दा दुईवटा घरमा क्षति भएको छ । स्थानीय खगिसरा भुजेलको दुई वटा घर पुरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
त्यस्तै छाक्दी खोलामा आएको बाढीले व्यास नगरपालिका १ र १३ जोड्ने पक्की पुल बगाएको छ । पुल बगाएपछि बुद्धसिंह मार्ग अवरुद्ध भएको छ ।