कर्णालीका चार सांसदमाथि ओलीले दिएको भ्याकेटमा दुवै पक्षलाई बोलाउन सर्वोच्चको आदेश
फ्लोर क्रस गर्ने कर्णाली प्रदेशसभाका सांसदलाई पुनर्बहाली गर्ने आदेशविरुद्ध एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको भ्याकेट निवेदनमा सर्वोच्च अदालतले दुवै पक्षलाई बोलाउन आदेश दिएको छ ।
मंगलबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र हरि फुयालको इजलासले रिट निवेदकलाई पनि बोलाउन आदेश दिएको हो ।उक्त मुद्दामा बहस गरेका अधिवक्ता ईश्वरी भट्टराईका अनुसार दुवै पक्षलाई बोलाउन आदेश दिए पनि अर्को पेशी तोकिएको छैन ।
कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरी नेकपा माओवादी केन्द्रका मुख्यमन्त्रीलाई विश्वासको मत दिएका एमाले सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर शाही र कुर्मराज शाहीलाई एमालेको दशौं महाधिवेशन आयोजक समितिले निष्कासनको कारबाही गरेको थियो ।
त्यस निर्णयविरुद्ध सांसदहरुले दिएको रिटमा सर्वोच्चले एमालेको दशौं महाधिवेशन आयोजक समितिले गरेको कारबाहीलाई अमान्य ठहर गर्दै सांसदहरुलाई पुनर्बहाली गरिदिएको थियो ।