सरकारले चीनसँग ४० लाख डोज खोप किन्दै
सरकारले चिनियाँ कम्पनी सिनोफर्मसँग ४० लाख डोज खोप तयारी गरेको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सहमति दिएको हो ।
बुधवार बसेको कोभिड १९ निर्देशक समितिमा प्रधानमन्त्री ओलीले ४० लाख डोज खोप ल्याउन गृहकार्य भइरको जानकारी दिए ।खोपको पहिलो लट जुन महिनाभित्रै आउने जनाइएको छ । उनले अन्य देशहरूसँग पनि खोप खरिदका लागि प्रयास भइरहेको जानकारी दिए ।
आगामी साउनदेखि नागरिकलाई पनि खोप लगाउने प्रक्रिया सुरु गरिने प्रधानमन्त्री ओलीको भनाइ छ ।यस्तै, हिमालयन टेलिभिजनको ‘यक्ष प्रश्न’मा कुराकानी गर्दै परराष्ट्रमन्त्री रघुवीर महासेठले चीनसँग ४० लाख र अमेरिकाको जोनसन एन्ड जोनसन कम्पनीसँग ५० लाख डोज खोप किन्ने बताएका छन् ।
जोनसन एन्ड जोनसन कम्पनीको ५० लाख डोज खोप विश्वबैंकमार्फत किन्न लागेकोसमेत मन्त्री महासेठले जानकारी दिए ।सरकारले चीनसँग ४ अर्ब ५० करोडको सीमाभित्र रहेर खोप किन्ने निर्णय गरेको बताइएको छ ।
प्रतिडोज १० देखि १२ डलरको बीचमा मूल्य पर्ने गरी खोप खरिद गर्ने सम्झौता हुँदैछ । यसअघि चीनले अनुदानमा दिएको सिनोफर्माको ‘भेरोसेल’ खोप नै खरिद गर्न लागिएको हो ।
खोप उत्पादकहरूले ९० दिनभित्र खोप उपलब्ध गराउने बताएको मन्त्री महासेठले जानकारी दिए ।नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मूल्य लगायतका विषय सार्वजनिक नगर्ने गरी ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने बताएको थियो । स्वा
स्थ्य सेवा विभागले त्यही कारण खरिद प्रक्रिया अघि बढाउन सकेन ।तर अरू कम्पनीसँग खरिद प्रक्रिया अघि नबढेपछि चिनियाँ प्रस्तावअनुसार नै सरकार ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्न सहमत भएको छ । तर नेपालको विद्यमान कानुनले ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्न अनुमति दिँदैन । यसबारे पनि सरकाले औपचारिक जानकारी दिएको छैन ।