Logo
९ मंसिर २०८१, आईतबार
(June 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वमुख्यमन्त्रीलाई पनि पूर्वप्रधानमन्त्रीजस्तै सुविधा दिनेबारे गण्डकीको मन्त्रिपरिषदमा सहमति

गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएपछि पहिलो चोटि बसेको मन्त्रीपरिषद् बैठकले पूर्वमुख्यमन्त्रीलाई पनि पूर्वप्रधानमन्त्रीजस्तै सुविधा दिनेबारे छलफल अघि बढाएको छ ।

यसबारे छलफल भएपनि निर्णय भने भइनसकेको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिएका छन् । पूर्वमुख्यमन्त्रीको सम्मानमा सरकारले कुनै पनि कमि नगर्ने उनले बताए ।

खड्काले भने  ‘पूर्वमुख्यमन्त्रीलाई सुविधा दिनेबारे कुनै व्यवस्था अहिलेसम्म गरिएको रहेनछ । संघमा पूर्वप्रधानमन्त्रीलाई जस्तै प्रदेशमा पनि पूर्वमुख्यमन्त्रीलाई अधिकतम सम्मान र सुविधा दिनुपर्छ भनेर हामीले छलफल गर्‍यौं, सामान्य समझदारी भए पनि निर्णय हुन बाँकी छ ।’

यसबारे एउटा नीति ल्याएर ऐन नबनाउञ्जेल मन्त्रिपरिषद्ले निर्णय गरेर केही व्यवस्था गरिने खड्काको भनाइ छ । प्रवक्ता खड्काले नवगठित सरकारले चाँडै विश्वासको मत लिने योजनामा रहेकोसमेत जानकारी दिए ।बजेट र नीति तथा कार्यक्रमबारे पनि निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग छलफल गरेर अघि बढ्ने सरकारका प्रवक्ता खड्काले बताए ।

जेठ ३१ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र असार १ गते बजेट ल्याउने बाध्यता गण्डकी सरकारलाई छ ।

 

 

प्रकाशित मिति: Jun 13, 2021

प्रतिक्रिया दिनुहोस्