वृद्धभत्ता मासिक ४ हजार : सुकुम्बासी र भूमिहीनलाई जग्गाधनी प्रमाण पूर्जा
नेपाल सरकारले भूमिहीन, सुकुम्बासी, पूर्वकमलरी, पूर्व कमैया, हरुवाचरुवा र अव्यवस्थित बसोवासीलाई आगामी वर्षभित्र जग्गाधनी प्रमाण पूर्जा उपलब्ध गराउने भएको छ ।
आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले उक्त घोषणा गरेका हुन् । त्यसका लागि ६८ करोड बजेट विनियोजन गरिएको छ ।
जग्गा उपलब्ध गराइनेहरूको अभिलेख संकलन, नाप नक्सांकन लगायतका काम सम्पन्न गरी आगामी आवभित्रै जग्गाधनी प्रमाण पूर्जा उपलब्ध गराइने अर्थमन्त्री पौडेलले बताए ।
बढ्यो वृद्धभत्ता, अब मासिक ४ हजार पाउने
यसैबीच सरकारले सामाजिक सुरक्षामा ३३ प्रतिशत वृद्धि गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत वृद्धि गरी वृद्धभत्ता ४ हजार पुर्याएको घोषणा गरेका हुन् ।
हाल जेष्ठ नागरिकहरूले मासिक ३ हजार भत्ता पाउँदै आएका थिए ।
सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएको अर्थमन्त्री पौडेलले बताए ।
सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरिएको छ ।