Logo
१३ मंसिर २०८१, बिहीबार
(May 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपामा जारी उथलपुथलबीच प्रदेश २ को सरकारमा समीकरण फेरिने संभावना

जनता समाजवादी पार्टी (जसपा) नेपालका २ अध्यक्षहरु दुई अलग/अलग गठबन्धनमा सामेल भएपछि प्रदेश २ स्थित प्रदेश सरकारको राजनीतिक समीकरण फेरिने संभावना बढ्केको छ ।

केन्द्रमा भइरहेको राजनीतिक उथलपुथलको सीधा असर प्रदेशमा पर्ने संभावना बढेको हो । केन्द्रमा नयाँ सरकार गठन असफल तथा संसद् विघटनसँगै प्रदेश २ मा सरकार परिवर्तन हुने सम्भावना बढेको विश्लेषण हुन थालिएको छ ।

प्रदेश २ मा अहिले जनता समाजावदी पार्टी (जसपा) को नेतृत्वमा बहुमतको सरकार छ। पूर्वसंघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) को साझेदारीमा सरकार बनेको थियो।

एक वर्षअघि दुई पार्टीबीच एकता भएपछि जसपा बनेको हो। तर पार्टी समायोजन नहुँदा हालसम्म प्रदेश सभामा दुवै दल पूर्ववत् अवस्थामै छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार वैकल्पिक सरकार गठनका लागि आह्वान गर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा जसपाको उपेन्द्र यादव, डा. बाबुराम भट्टराई समूहका १२ सांसदले हस्ताक्षर गरेका थिए भने महन्थ ठाकुर, राजेन्द्र महतो पक्षका २० सांसद भने ओलीकै पक्षमा उभिएका थिए।

यसपछि जसपाभित्रको विवाद झन् उग्र बनेको हो। जसपा अब औपचारिक रूपमा अलग हुन मात्र बाँकी रहेको सोही पार्टीका नेताहरू बताउँछन्।

जसपा विधिवत् रूपमा विभाजन भए प्रदेश २ मा जसपा उपेन्द्र यादव पक्ष, कांग्रेस र माओवादी केन्द्र सम्मिलित सरकार बन्ने सम्भावना छ।

जसमा एमालेको नेपाल पक्ष क्लियर भएर आए उनीहरूलाई पनि नयाँ सरकारमा सहभागी गराइने दलका नेताहरूले बताएका छन्।

हाल प्रदेश २ मा जनता समाजवादी पार्टीभित्रका पूर्वसंघीय समाजवादी फोरमका ३० र पूर्वराजपाका २५, एमालेका २१, कांग्रेसका १९ र माओवादी केन्द्रका ८ र एक जना स्वतन्त्र सांसद छन्।

यसअघि प्रदेश सभाको सदस्य संख्या १०७ भए पनि एमाले ओली पक्षमा सामेल एक समानुपतिकसहित आफ्ना ४ जना प्रदेश सांसदलाई माओवादी केन्द्रले कारबाही गरेको थियो।

तर माओवादी केन्द्रले खाली समानुपातिक कोटामा सांसद चयन गरिसकेकाले अहिले प्रदेश सभामा कायम सदस्य संख्या १०४ छ।

यस हिसाबले प्रदेश २ मा बहुमतको सरकार बनाउन कम्तीमा ५३ सांसद चाहिन्छ। यस विषयमा छलफल भइरहेको कांग्रेस र माओवादी केन्द्रले जनाएका छन्।

कांग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज यादवले प्रदेशमा नयाँ सत्ता समीकरणबारे पार्टीको केन्द्रीय तहमा छलफल भइरहेको बताए।

‘प्रदेश २ मा कांग्रेसलगायतको नयाँ सत्ता समीकरण बन्छ। तर पहिले जसपा विधिवत् अलग हुनुपर्यो,’ दलका नेता यादवले भने, ‘यस विषयमा केन्द्रमा पनि छलफल भइरहेको छ।’

बन्ने नयाँ सत्ता समीकरणमा एमालेको माधव नेपाल पक्ष पनि सहभागी हुने सम्भावना रहेको नेताहरूले बताएका छन्। तर यसका लागि केन्द्रमा एमालेको नेपाल पक्षको कित्ता क्लियर हुनुपर्ने उनीहरूको भनाइ छ।

माओवादी केन्द्र प्रदेश २ संसदीय दलका नेता भरतप्रसाद साहले सत्ता समीकरणबारे छलफल भइरहेको जानकारी दिँदै जसपाको औपचारिक विभाजनको पर्खाइमा रहेको बताए।

उनका अनुसार प्रदेश २ मा उपेन्द्र यादव पक्ष, कांग्रेस र माओवादी केन्द्र सम्मिलित सरकारका लागि स्पष्ट बहुमत छ।

प्रदेश सभामा कायम सदस्य संख्या १०४ मध्ये अहिले जसपाको यादव पक्षका ३०, कांग्रेसका १९ र माओवादी केन्द्रका ८ जोड्दा विपक्षीतर्फ सांसदको संख्या ५७ पुग्नेछ ।

प्रकाशित मिति: May 22, 2021

प्रतिक्रिया दिनुहोस्