गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ दिए राजीनामा
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार राजीनामा दिएका छन् ।
मुख्यमन्त्री गुरुङले दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम तीन दिनभित्र सरकार बनाउन आह्वान गरेकी छन् ।
संविधानको धारा १६८ को उपधारा २ मा स्पष्ट बहुमत नभए दलहरू मिलेर सरकार बनाउन सक्ने व्यवस्था छ । ‘प्रदेशसभामा कुनै दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ,’ धारा १६८ को उपधारा २ मा भनिएको छ ।
सो व्यवस्था अनुसार गण्डकी प्रदेशमा अब गठबन्धन सरकार बन्ने छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमत पुर्याएर नयाँ सरकार गठन गर्न ३१ सांसद चाहिन्छ । अहिले नयाँ सरकार गठनको पक्षमा ३२ सांसद छन् ।
गण्डकी प्रदेशसभामा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, राष्ट्रिय जनमोर्चाका तीन र जनता समाजवादी पार्टी दुई गरेर ५९ सांसद छन् । त्यसबाहेक एक जना मनाङ ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ) छन् ।
मुख्यमन्त्री गुरुङको विपक्षमा एमालेका २७ र स्वतन्त्र सांसद मनाङे गरेर २८ सांसद थिए । आफ्नो विपक्षमा स्पष्ट बहुमत रहेपछि मुख्यमन्त्री गुरुङले आइतबार राजीनामा बुझाएका हुन् ।
अब गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार बन्ने छ । सरकारमा माओवादी, जसपा सांसद मन्त्री हुने छन् । जनमोर्चा भने सरकारमा जाने छैन । केन्द्रीय कमिटीले नयाँ सरकारलाई साथ दिने निर्णय गरेकाले जनमोर्चा सरकारमा नजाने भएको हो ।