Logo
३ माघ २०८१, बिहीबार
(May 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि अधिकतम २५ प्रतिशत कर्मचारीबाट बैंकिङ सेवा प्रदान गर्न राष्ट्र बैंकको निर्देशन

नेपालमा कोरोना संक्रमणको दोस्रो लहर भयावह बन्दै गएपछि नेपाल राष्ट्र बैंकले आजदेखि अधिकतम २५ प्रतिशत कर्मचारीबाट बैंकिङ सेवा प्रदान गर्न निर्देशन दिएको छ । साथै सेवाग्राहीलाई सम्भव भएसम्म ‘फेस टु फेस’ बैङ्किङ सेवाभन्दा विद्युतीय माध्यमबाट सेवा प्रदान गर्न राष्ट्र बैङ्कको गरेको छ ।

नेपाल राष्ट्र बैंकले आइतवार निर्देशन जारी गर्दै केन्द्रीय कार्यालयको हकमा २० र शाखा कार्यालयमा २५ प्रतिशत कर्मचारीमार्फत सेवा प्रदान गर्न निर्देशन दिएको हो ।

सरकारले कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै बिहीबारदेखि काठमाडौँ उपत्यकालगायतका केही जिल्लामा १५ दिनका लागि निषेधाज्ञा जारी गरिसकेको छ ।

राष्ट्र बैङ्कले निषेधाज्ञाको पालनाका लागि स्थानीय निकायसँगको समन्वयमा शाखा सञ्चालन गरी बैङ्किङ सेवा प्रदान गर्न पनि निर्देशन दिएको छ ।

निषेधाज्ञाको समयमा पनि बैङ्किङ सेवा अत्यावश्यकीय भएको र सेवा प्रवाहलाई निरन्तरता दिनुपर्ने भएकाले कर्मचारीको उपस्थिति थोरैभन्दा थोरैमा सेवा प्रदान गर्न राष्ट्र बैङ्कले मातहतका वाणिज्य बैङ्क, विकास बैङ्क, फाइनान्स तथा माइक्रोफाइनान्स कम्पनीलाई निर्देशन दिएको हो ।

अनावश्यक कर्मचारीको उपस्थिति रोक्न डिजिटल प्रविधिमार्फत कारोबार बढाउन र भौतिक सेवालाई न्यूनीकरण गर्न राष्ट्र बैङ्कको निर्देशन छ ।

कर्मचारीलाई पनि सक्दो घरैबाट र दूर पहुँचबाट काम गर्न जोड दिनसमेत निर्देशनमा भनिएको छ ।

बैङ्क तथा वित्तीय संस्थालाई नजिकै रहेका शाखाहरूको हकमा थोरैभन्दा थोरै शाखा सञ्चालनमा ल्याई वैकल्पिक शाखाबाट आलोपालो सेवा प्रदान गर्नसमेत राष्ट्र बैङ्कको निर्देशन छ ।

बन्द हुने शाखा कार्यालयको मूल ढोका, संस्थाको वेबसाइट तथा सामाजिक सञ्जालमा सेवासम्बन्धी सोधपुछका लागि सम्पर्क व्यक्तिको सम्पर्क नम्बर, खुल्ने वैकल्पिक शाखा तथा समयावधिसम्बन्धी सूचना दैनिक रूपमा प्रकाशन गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

प्रकाशित मिति: May 3, 2021

प्रतिक्रिया दिनुहोस्