Logo
९ मंसिर २०८१, आईतबार
(April 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता गराउने तीन दलद्वारा सुरक्षाको माग

गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तीन दलले सुरक्षाको माग गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै पछिल्लो घटनाक्रमबारेमा आधिकारिक धारणासमेत व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र जनता समाजवादी पार्टीका संसदीय दलका नेता हरिशरण आचार्यद्वारा संयुक्तरूपमा हस्ताक्षरित विज्ञप्तिमा प्रदेशसभा सदस्यहरूलाई धम्की र प्रलोभन दिने व्यक्ति र समूहलाई कानूनको कठघरामा ल्याई सभामुख र प्रदेशसभामा अविश्वास प्रस्तावका पक्षधर सांसदहरूको सुरक्षाको सुनिश्चितता गर्न माग गरिएको छ ।

दलहरूले प्रदेशसभा सदस्य खीमविक्रम शाहीको पिसिआर रिपोर्टको छानबिन गरी प्रयोगशालाको विश्वसनीयता जाँच गर्न माग गर्दै चरक अस्पतालको सिसीटिभी हार्डवेयरको जाँच गरी सम्पूर्ण फुटेज सार्वजनिक गर्न पनि माग गरेका छन् । उनीहरूले पछिल्ला घटनाक्रम सम्बन्धमा आठ बुँदे धारणा पनि सार्वजनिक गरेका छन् ।

मुख्यमन्त्रीमाथि अविश्वासको प्रस्ताव पेश हुने भएपछि विधेयक अधिवेशन हठात अन्त्य गर्नु, कोरोना परीक्षणको माग उठाएर सत्तापक्षले असंसदीय तरिकाले सदन अवरुद्ध गर्नु र प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने दिन माननीय खीमविक्रम शाही अस्वभाविक र रहस्यमय तरिकाले सदनमा अनुपस्थित हुनु तथा दलको सचेतकले निजलाई सार्वजनिक गर्नुका साथसाथै जीवनरक्षाको समेत आग्रह गरेको शृङ्खलाबद्ध घटनाक्रमले आफूहरूलाई दुःखित र आश्चर्यचकित बनाएको जनाएका छन् ।

यस्तो छ विज्ञप्ति

गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीमाथि अविश्वासको प्रस्ताव पेस हुने भएपछि विधेयक अधिवेशन हठात् अन्त्य गर्नु, कोरोना परीक्षणको माग उठाएर सत्तापक्षले असंसदीय तरिकाले सदन अवरुद्ध गर्नु र प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने दिन माननीय खीमविक्रम शाही अस्वभाविक र रहस्यमय तरिकाले सदनमा अनुपस्थित हुनु तथा दलको सचेतकले निजलाई सार्वजनिक गर्नका साथसाथै जीवनरक्षाको समेत आग्रह गर्नुभएको शृंखलाबद्ध घटनाक्रमले हामीलाई दुखित र आश्चर्यचकित बनाएको छ ।

यस सन्दर्भमा गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने हामी ३ दलको धारणा सार्वजनिक गर्न यो विज्ञप्ति जारी गरिएको छ ।

१. लाइफकेयर डाइग्नोस्टिक प्रयोगशालामा २०७८ वैशाख १४ गते साँझ ४ बजे स्वाब दिएको भनेर रिपोर्ट आएको छ । जबकि त्यही समय माननीय खीमविक्रम शाही प्रदेश सभा परिसर नदीपुरमा स्वाब दिइरहनुभएको थियो ।

एक व्यक्ति एउटै समयम दुई स्थानमा उपस्थित हुन कसरी सम्भव छ ? एक स्थानमा स्वाब दिइसकेपछि त्यही दिन अर्को स्थानमा स्वाब दिनुपर्ने कारण के प¥यो ?

२. माननीय पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकार अन्तर्गत रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पिसिआर रिपोर्ट नेगेटिभ देखाउनु, तर करिब आधा घन्टाको फरकमा सार्वजनिक गरिएको रिपोर्टमा निजी ल्याबले पोजेटिभ देखाउनु अत्यन्त रहस्यमय र अस्वभाविक छ ।

३. २०७८ वैशाख १५ गते दिनको २ बजे फोनमा सम्वाद गरिरहनुभएको माननीय सोही दिन मध्यान्ह १२ बजे पार्टी, संसदीय दल र प्रदेश सभा सचिवालयलाई समेत जानकारी नगराइ आइसियुमा भर्ना गरिएको भनिएको अस्वभाविक कथन र पार्टीका नेताले भेट्न खोज्दा पनि अस्पताल प्रशासनले भेट्न नदिनु, दुर्व्यहार गर्नु खेदजनक छ ।

स्वास्थ्यजस्तो मर्यादित क्षेत्रमा पनि आपराधिक प्रवृत्ति मौलाएको सर्वत्र आशंका गरिएको छ । चरक मेमोरियल अस्पताल र त्यहाँका जिम्मेवार चिकित्सकको व्यवहार गैरजिम्मेवार र अविश्वसनीय छ ।

४. माननीय खीमविक्रम शाही भर्ना भएको भनिएको चरक अस्पताल परिसरमा ठूलो संख्यामा सादा पोसाकमा सुरक्षाकर्मी परिचालित गर्नुको कारण रहस्यमय छ ।

५. सरकारका जिम्मेवार व्यक्तिहरुले माननीय सभामुखप्रति गर्नुभएको दुव्र्यवहार र धम्कीपूर्ण अभिव्यक्ति निन्दनीय र भत्र्सनायोग्य छ ।

६. माननीय खीमविक्रम शाही चरक अस्पतालमा पैदल प्रवेश गरेको सिसिटिभी फुटेजमा कैद दृश्यले मञ्चन गरिएको नाटकलाई पर्दाफास गर्ने भएका कारण त्यसको हार्डवयरमा समेत चलखेल गरिनुले यो योजनामा चरक अस्पताल समेत संलग्न रहेको देखिन्छ ।

७. प्रदेश सभा सदस्यको गरिमामय पदमा रहेको व्यक्तिको स्थिति अज्ञात भएको र तिनको जीवन रक्षाको पहल गरिदिन सम्बन्धित पार्टीले अनुरोध गर्दा पनि तत्कालै सो अवस्थाको सार्वजनिकीकरण नगरी, बन्दी बनाइएको आशंका गरिएको अस्पताल प्रशासनले पार्टीका जिम्मेवार नेताहरुलाई भेट्न नदिँदा समेत जिल्ला प्रशासन मौन, मुकदर्शक र किंकर्तव्यविमुढ हुनुले ठूलो तहबाट गरिएको नियोजित षढ्यन्त्रको सम्भावनालाई इंगित गरेको छ ।

८. प्रदेश सभा सदस्यहरुलाई विभिन्न टेलिफोन नम्बरबाट फोन गरी प्रलोभन दिने, धम्की दिने र उपरोक्त घटना अविश्वासको प्रस्तावसँग सम्बन्धित देखिनुले योजनाको सञ्चालकबारे प्रष्ट संकेत गरेको छ ।

हाम्रा मागहरु 

१. माननीय खिविक्रम शाहीको पिसिआर रिपोर्टहरुको छानबिन गरी प्रयोगशालाहरुको विश्वसनीयताको जाँच गरियोस ।

२. चरक अस्पतालको सिसिटिभी हार्डवयरको जाँच गरी सम्पूर्ण फुटेजहरु सार्वजनिक गरियोस् ।

३. प्रदेश सभा सदस्यहरुलाई धम्की र प्रलोभन दिने व्यक्ति र समूहलाई कानुनको कठघरामा ल्याई सभामुख र प्रदेश सभामा अविश्वास प्रस्तावका पक्षधर सांसदहरुको सुरक्षाको सुनिश्चितता गरियोस् । रासस

 

 

प्रकाशित मिति: Apr 30, 2021

प्रतिक्रिया दिनुहोस्