भारतमा आगोसरी फैलिदै कोरोना, एकैदिन थपिए ३ लाख १४ हजारभन्दा बढी संक्रमित
छिमेकी मुलुक भारतमा एकैदिन ३ लाखभन्दा बढीमा कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ३ लाख १४ हजार ८ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
एकै देशमा २४ घण्टाभित्र यति धेरै संख्यामा संक्रमण भएको यो विश्वकै पहिलो घटना हो ।यसअघि गत जनवरी २ मा अमेरिकामा एकैदिन ३ लाख ३ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
भारतमा दैनिक रुपमा २ लाखभन्दा बढीलाई संक्रमण पुष्टि भएकै पनि ८ औं दिन हो ।त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा २ हजार १ सय ४ जनाको मृत्यु भएको छ ।
योसँगै भारतमा संक्रमितको संख्या १ करोड ५९ लाख ३० हजार ९ सय ६५ पुगेको छ । त्यस्तै अहिलेसम्म कोरोनाले १ लाख ८४ हजार ६ सय ५७ जनाको मृत्यु भएको छ भने १ करोड ३४ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । भारतमा अहिले २२ लाख ९१ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
भारतमा कोरोना संक्रमण भयावह बन्नेक्रमसँगै राजधानी दिल्लीलगायत प्रमुख सहरमा अक्सिजनको हाहाकार सुरु हुन थालेको छ । संक्रमणदर बढेसँगै अक्सिजनको चरम अभाव हुन थालेको छ ।
राजधानी दिल्लीमा हाहाकार नै मच्चिसकेको छ ।उत्तरप्रदेशको बनारस र लखनऊमा अक्सिजन समयमा उपलब्ध नहुँदा धेरैले ज्यान गुमाउनु परेको छ ।
दिल्लीका प्रमुख अस्पतालहरुमा अक्सिजन सीमित रहेको र यदि समयमा आपूर्ति नभएको खण्डमा परिस्थिति भयावह बन्ने देखिएको छ ।दिल्लीकै जस्तो अवस्था महाराष्ट्र, मध्यप्रदेश, गुजरात र उत्तरप्रदेशको रहेको छ ।