Logo
१२ मंसिर २०८१, बुधबार
(April 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरीकाको क्यालिफोर्निया गोलीकाण्डमा चार जनाको मृत्यु

अमेरिकाको दक्षिणी क्यालिफोर्निया गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ ।

क्यालिफोर्नियास्थित एक कार्यालयमा बुधबार भएको गोली काण्डमा एक बालक सहित चार जनाको मृत्यु भएको हो।घटनास्थलमा अपराह्न ५: ३० बजे प्रहरी पुग्दा सर्वसाधारणमाथि गोली चलाउने क्रम जारी थियो, अरेन्ज नगरका प्रहरी जेनिफर अमाटले बताइन् ।

त्यस लगत्तै प्रहरीले आक्रमणकारीमाथि गोली चलाएको र उनलाई घाइते अवस्थामा अस्पताल लगिएको पनि अमाटले जानकारी दिइन् ।

प्रहरीका अनुसार गोली चलाउने व्यक्ति पनि गम्भीर रुपमा घाइते भएका छन् ।लस एन्जलसको दक्षिणमा अवस्थित अरेन्ज नगरमा भएको यो आमहत्या दुई साताभित्रै भएको देशकै तेस्रो घटना हो ।

घाइतेका बारेमा प्रहरीले तत्काल केही बताएको छैन, तर घटनामा एक बालक र एक महिला निकै गम्भीर रहेका जनाएको छ ।

क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमले ट्विट गर्दै उक्त घटना निकै भयावह र हृदयविदारक रहेको बताएका छन् ।

अरेन्ज नगर लस एन्जलसबाट करिब ४८ किलोमिटर दक्षिणमा रहेको छ र यहाँ करिब एक लाख ४० हजारको बसोबास छ । प्रहरी अधिकृत अमाटले यस सहरमा सन् १९९७ पछि सबैभन्दा डरलाग्दो गोलीकाण्ड भएको जानकारी दिए ।

त्यस बखत एक ४१ वर्षीय आर्टुरो रियेज टोरेजले एक प्रहरी सहित चार जनालाई गोली हानी हत्या गरेका थिए । प्रहरी कारबाहीमा उनको पनि मृत्यु भएको थियो ।

गत साता अमेरिकाकै कोलोराडो राज्यको बाउल्डरस्थित सुपरमार्केटमा भएको गोली काण्डमा १० जनाको ज्यान गएको थिए भने त्यसको एक साताअघि मात्र एटलान्टाका तीन वटा मसाज पार्लरमा गोली हानेर छ जना एसियाली मुलका महिलाको ज्यान गएको थियो ।

प्रकाशित मिति: Apr 1, 2021

प्रतिक्रिया दिनुहोस्