Logo
५ आश्विन २०८१, शनिबार
(March 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सबैखाले भिडभाडजन्य गतिविधि रोक्न आग्रह, प्रमुख नाकामा कडाइ थालियो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको भन्दै सबैखाले भिडभाडजन्य गतिविधि रोक्न आग्रह गरेको छ।

बुधबार मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्राडा जागेश्वर गौतमले भिडभाड हुने सबै गतिविधि बन्द गर्न प्रमुख जिल्ला अधिकारीहरुसँग आग्रह गरे।

संक्रामक रोग ऐन अनुसार प्रमुख जिल्ला अधिकारीलाई सबै प्रकारका भिडभाड रोक्न मन्त्रालयले आग्रह गरेको उनले बताए।

‘कुनै पनि जुलुश, भिडभाड सभा, सम्मेलन, भेलाहरु रोक्न पनि स्वास्थ्य मन्त्रालय बिनम्र आग्रह गर्दछ’ उनले भने।

नेपालमा पछिल्लो समय पुनः कोरोना संक्रमण बढ्दै गएको भन्दै सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ।

पछिल्लो २४ घण्टामा १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीन हजार १९ जनाको पीसीआर परीक्षण गर्दा १६२ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

प्रेस ब्रिफिङका क्रममा डा. गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंमा ५०, ललितपुरमा १३ र भक्तपुरमा ४ गरी ६७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

आज देशभर एक हजार ४९३ जना सक्रिय संक्रमित रहेका पनि उनले बताए।

कोरोना महामारीको जोखिम दोहोरिने खतरा बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका भित्रिने नाकामा निगरानी बढाएको छ।

प्रमुख जिल्ला अधिकारी काली पराजुलीका अनुसार काठमाडौं भित्रिने प्रमुख नाकामा कडाइ थालिएको हो।

बुधबारै स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा कोरोना परीक्षण गर्ने बताएको छ।

 नाकामा अहिले ज्वरो आएका तथा रूघाखोकी लागेका व्यक्तिहरूलाई अनिवार्य पिसिआर परीक्षणमा पठाइन थालेको छ।

 

प्रकाशित मिति: Mar 31, 2021

प्रतिक्रिया दिनुहोस्